अम्पायरमाथि व्यङ्ग्यात्मक टिप्पणी गर्दा कारबाहीमा परे करण केसी
काठमाडौं : अम्पायरिङको विषयलाई लिएर सामाजिक सञ्जालमा व्यंग्यात्मक टिप्पणी गरेपछि राष्ट्रिय क्रिकेट खेलाडी करण केसीलाई एक खेल प्रतिबन्धसहित सय प्रतिशत म्याच शुल्कको जरिवाना गरेको छ। नेपाल क्रिकेट संघले एक विज्ञप्ति जारी गरेर केसीलाई कारबाही गरेको जनाएको हो।
"नेपाल पुलिस क्लबका खेलाडी करण केसीले अम्पायरहरु प्रति सामाजिक सञ्जाल मार्फत व्यक्त गरेको अभिव्यक्तिप्रति नेपाल क्रिकेट संघको गम्भीर ध्यानाकर्षण भएको छ," विज्ञप्तिमा भनिएको छ, ‘उक्त अभिव्यक्ति खेल भावना अनुरूप नभएको ठहर गर्दै सम्बन्धित सबै सरोकारवालासँग समन्वय गरी क्रिकेटर करण केसीलाई प्रधानमन्त्री कप एक दिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताको एक खेलका लागि प्रतिबन्ध लगाउनुका साथै १०० प्रतिशत शुल्क जरिवाना गर्ने निर्णय गरिएको व्योहोरा जानकारी गराइन्छ।"
केसीले फेसबुक पेज ‘ट्रोल क्रिकेट नेपाल’ले शुक्रबार पिएम कपका क्रममा बागमती प्रदेशका कप्तान सन्दीप लामिछाने र अम्पायरबीच भएको विवादको तस्बिर पोस्ट गरेको थियो। उक्त पोस्टमा करणले कमेन्ट गरेका छन्, "यदि कुनै खेलाडीले अम्पायरलाई गल्तीले पिट्यो भने! मेरो मतलब गल्तीले। कति खेलमा प्रतिबन्ध लाग्छ? सोधेको मात्र, पुनश्चस् खेलाडीको जानकारी र सुरक्षाको लागि।"
उनको उक्त भनाइप्रति नेपाल क्रिकेट अम्पायर तथा स्कोरर संघले क्रिकेटर करण केसीले सामाजिक सञ्जालमा दिएको अभिव्यक्तिप्रति आपत्ति जनाएको थियो।
संघले उक्त टिप्पणीप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको थियो। उक्त टिप्पणीले अम्पायरहरूको पेशागत सुरक्षा र आत्मसम्मानमा आघात पुगेको संघको ठहर गरेको थियो। यस्ता गतिविधि निरुत्साहित गर्नका लागि क्यानसमक्ष कडा कारबाहीको माग गरेकोमा क्यानले केसीलाई कारबाही गरेको हो।
के हो विवाद?
वीरगन्जस्थित नारायणी क्रिकेट मैदानमा शुक्रबार बागमती प्रदेश र मधेश प्रदेशबीच पिएम कपको ३७औँ खेल भइरहेको थियो। बागमतीले दिएको २०९ रनको लक्ष्य पछ्याउने क्रममा मधेश प्रदेशले ब्याटिङ गरिरहँदा खेलको २३औँ ओभरमा विवादको सिर्जना भएको थियो।
बागमतीका प्रतीश जीसीले बलिङ गरिरहेको उक्त ओभरको दोस्रो बल मधेशका मोहम्मद आदिल आलमको प्याडमा लागेको थियो। बलिङ टिमले एलबीडब्लूको जोडदार अपिल गरे पनि अनफिल्ड अम्पायर कमलेश ठाकुरले त्यसलाई नकारे।
अम्पायरले आउट नदिएपछि बागमतीका कप्तान सन्दीप लामिछाने आक्रोशित हुँदै अम्पायरसँग विवाद गर्न पुगेका थिए। उनी अम्पायर ठाकुरलाई औँला उठाएर थर्काउँदै लामो समय विवाद गरेका थिए। क्रिकेटमा अम्पायरको निर्णय नै अन्तिम हुने नियम छ।
तर पनि सन्दीपले अम्पायर ठाकुरसँग तीन मिनेट लामो गलफती र विवाद गरेका थिए। उनी मैदानमै यति आक्रोशित र आक्रामक भएका थिए कि उनका टिमका साथीहरूले उनलाई समातेर अर्को साइडमा लैजानुपरेको थियो। उक्त खेलमा प्रतीश जिसीको ५ विकेटको मद्दतले बागमतीले ३५ रनको जित हात पारेको थियो।

चैत २९, २०८२ आइतबार १३:३५:४१ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।