‘राम नाम सत्य’को धमाकेदार ओपनिङ: हलमा देखियो विराज भट्टको क्रेज, दुई दिनमा १ करोड ३० लाखको व्यापार

‘राम नाम सत्य’को धमाकेदार ओपनिङ: हलमा देखियो विराज भट्टको क्रेज, दुई दिनमा १ करोड ३० लाखको व्यापार

काठमाडौं : शुक्रबारदेखि प्रदर्शनमा आएको एक्सन जनराको फिल्म ‘राम नाम सत्य’ ले बक्स अफिसमा उत्साहजनक सुरुवात गरेको छ। एक्सन स्टार विराज भट्टको मुख्य भूमिका रहेको यस फिल्मले सुरुवाती दुई दिनमै सुखद ओपनिङ गर्न सफल भएको हो।

शनिबार अभिनेता विराज भट्टसहितको टोली उपत्यकाका विभिन्न हलहरूमा पुग्दा दर्शकको ठूलो भिड देखिएको थियो। चाबहिलको एफक्युब, कीर्तिपुर र अष्टनारायण हलमा पुगेका विराजलाई दर्शकले 'विराज भट्ट हाई-हाई' को नारा लगाएका थिए।

हल भिजिटका क्रममा अभिनेता विराज भट्टले अहिलेको अवस्थामा ठूला स्टारहरूकै फिल्मको ओपनिङ कमजोर भइरहेका बेला आफ्नो फिल्मले राम्रो व्यापार गर्नु उल्लेखनीय भएको दाबी गरे।

उनले भने,‘ठुला ठुला स्टार भनिएकाहरुको ओपनिङ नै लागिरहेको हुँदैन। ओपनिङ मात्रै होइन। ५० लाखमुनि सिनेमाको विजनेस छ। लाइफटाइम कलेक्सन छ,त्यो तपाईले उठाएर हेर्नुभयो भने धेरैको पाउनु हुनेछ।’

वितरक कम्पनी काफिया फिल्मका गोविन्द शाहीका अनुसार फिल्मले शुक्रबार र शनिबार गरी देशभरबाट १ करोड ३० लाख रुपैयाँ ग्रस कलेक्सन गरेको छ। उनले उकेरासँगको कुराकानीमा भने,‘दर्शकको उत्साह हलमा निकै देखियो। हिजो र अस्तिको व्यापार एक करोड ३० लाख ग्रस कलेक्सन छ। आइतबार पनि सार्वजनिक बिदा भएकाले व्यापार अझै बढ्ने अपेक्षा छ।’

निर्देशक माइकल चन्दको कथा तथा निर्देशनमा बनेको यो फिल्म बदलाको कथामा आधारित छ।

फिल्ममा विराज भट्टसँगै सुपुष्पा भट्ट, दिव्या रायमाझी, सुनील थापा र खुशी कार्की लगायतका कलाकारको अभिनय रहेको छ। देशभर करिब १८० शोमा प्रदर्शन भइरहेको यो फिल्मले शुक्रबार र शनिबार आक्रामक व्यापार गरे पनि आइतबार भने डिजिटल प्लेटफर्म (खल्ती एप) मार्फत हुने टिकट बुकिङमा केही कमी देखिएको छ।  

यद्यपि, दिउँसो र बेलुकाका शोहरूमा दर्शकको उपस्थिति बढ्न सक्ने अपेक्षा गरिएको छ।

उपेन्द्र शाही र स्वेता बिमलीको लगानी रहेको फिल्ममा किशोर भट्ट, राजेन्द्र भट्ट र अर्जुन सुनार कार्यकारी निर्माताका रूपमा रहेका छन्। फिल्मको निर्माण पक्षले कुल लगानी सार्वजनिक नगरे पनि यसमा खिचिएका एक्सन दृश्यहरूले फिल्ममा मोटो रकम खर्चिएको अनुमान गर्न सकिन्छ।

चैत २९, २०८२ आइतबार १३:३२:०८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।