धनुषामा पिकनिक गएका बेला खोलामा पौडी खेल्ने क्रममा बेपत्ता युवकको शव फेला
धनुषा : धनुषामा पौडी खेल्ने क्रममा बेपत्ता भएका एक युवकको शव फेला परेको छ।
शनिबार साथीहरूसँग पिकनिक गएका जनकपुरधाम उपमहानगरपालिका-६ का १८ वर्षीय महमद आयन पौडी खेल्ने क्रममा बेपत्ता भएका थिए। गणेशमान चारनाथ नगरपालिका-५ टोडकीटोलस्थित कमल खोलामा डुबेर उनी हराएलगत्तै स्थानीय प्रहरी र सशस्त्र प्रहरीको टोलीले खोजी सुरु गरेको थियो।
प्रहरी चौकी चिसापानी र सशस्त्र प्रहरी बलको सुरक्षा बेस रघुनाथपुरको टोलीले शनिबार दिनभर प्रयास गर्दा पनि उनलाई फेला पार्न सकेको थिएन। त्यसपछि थप खोजीका लागि सशस्त्र प्रहरी बल नेपाल नं. २ छिन्नमस्ता बाहिनी मुख्यालय महोत्तरीबाट विशेष गोताखोर टोली परिचालन गरिएको थियो।
गोताखोर टोलीले आज बिहान करिब १० बजे घटनास्थलभन्दा करिब ४० मिटर तल र झण्डै ४० मिटर गहिराइबाट उनको शव फेला पारेको सशस्त्रले जानकारी दिएको छ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
चैत २९, २०८२ आइतबार १२:४३:०८ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।