इरानसँग सम्झौता नभए पनि फरक नपर्ने ट्रम्पको प्रतिक्रिया, भने- 'हामीले जितिसकेका छौं'

इरानसँग सम्झौता नभए पनि फरक नपर्ने ट्रम्पको प्रतिक्रिया, भने- 'हामीले जितिसकेका छौं'

एजेन्सी : इरानसँगको वार्ता निष्कर्षविहीन रहेपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले वार्ताको परिणामप्रति आफूलाई खास चासो नभएको प्रतिक्रिया दिएका छन्। 

युद्धमैदानमा अमेरिका पहिले नै विजयी भइसकेको दाबी गर्दै उनले इरानी नेतृत्वलाई कमजोर पारिएको र सैन्य संरचनामा क्षति पुर्याइएको उल्लेख गरे। “सम्झौता भए पनि नभए पनि फरक पर्दैन, हामीले जितिसकेका छौं”, उनले भने।

मध्यपूर्वमा चर्किँदै गएको युद्ध अन्त्य गर्ने उद्देश्यले पाकिस्तानको मध्यस्थतामा सुरु भएको इरान र संयुक्त राज्य अमेरिकाबीचको लामो वार्ता कुनै ठोस सहमतिविना टुङ्गिएको छ। २१ घण्टासम्म चलेको म्याराथन छलफलपछि अमेरिकी उपराष्ट्रपति जेडी भान्सले आइतबार वार्ता निष्कर्षविहीन बनेको जानकारी दिए।

वासिङ्टनले तेहरानसँग आणविक हतियार विकास नगर्ने ‘मौलिक प्रतिबद्धता’ खोजेको भए पनि त्यसतर्फ स्पष्ट सङ्केत नदेखिएको उनले बताए। उता, इरानले भने कुनै पनि सम्भावित सम्झौतामा आफ्ना जफत गरिएका सम्पत्ति फुकुवा हुनुपर्ने र लेबनानमा हिजबुल्लाहविरुद्धको इजरायली आक्रमण रोकिनुपर्ने माग राखेको छ। तर भान्सले ती विषयहरू इस्लामावाद वार्ताको दायराभन्दा बाहिर रहेको स्पष्ट पारे।

युद्ध सुरु भएसँगै इरानले होर्मुज जलडमरूमध्यमाथि नियन्त्रण कायम गर्दै विश्व तेल बजारमा प्रभाव पारेको छ। तेलको मूल्य वृद्धिले अमेरिकामा समेत राजनीतिक दबाब सिर्जना गरेको छ। अमेरिकी सेनाले जलडमरूमध्य सुरक्षित बनाउने प्रयास गरिरहेको दाबी गरे पनि इरानले त्यस्तो कुनै गतिविधि स्वीकार गरेको छैन र हस्तक्षेप भए कडा जवाफ दिने चेतावनी दिएको छ।

यता लेबनानमा इजरायल र हिजबुल्लाहबीचको द्वन्द्व पनि जारी छ। इजरायली आक्रमणमा मृत्यु हुनेको सङ्ख्या दुई हजार नाघिसकेको लेबनानी अधिकारीहरूले जनाएका छन्। आगामी साता इजरायल र लेबनानबीच वासिङ्टनमा छुट्टै वार्ता हुने तयारी छ। इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले दीर्घकालीन शान्ति सम्झौताको चाहना व्यक्त गरेको भए पनि हिजबुल्लाहसँग तत्काल युद्धविराममा सहमति जनाएका छैनन्।

यता इरानभित्रै पनि अमेरिकाप्रति गहिरो अविश्वास कायमै देखिएको छ। यद्यपि दुवै पक्षले कूटनीतिक ढोका पूर्ण रूपमा बन्द नगरेको सङ्केत दिएका छन्। विशेषज्ञहरूका अनुसार ठूलो र उच्चस्तरीय इरानी टोलीको सहभागिताले उनीहरू सम्झौताको सम्भावनाप्रति गम्भीर रहेको देखाए पनि आपसी अविश्वास र क्षेत्रीय जटिलताले सहमति टाढा धकेलेको छ।

चैत २९, २०८२ आइतबार १०:१६:५५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।