अमेरिका र इरानबीच युद्धविरामपछि बजारमा उत्साह, तर कूटनीतिमा अझै संशय

अमेरिका र इरानबीच युद्धविरामपछि बजारमा उत्साह, तर कूटनीतिमा अझै संशय

एजेन्सी : अन्ततः अमेरिका र इरानबीचको बढ्दो सैन्य तनाव तत्कालका लागि केही मत्थर भयो। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले वासिङ्टन समयअनुसार मंगलबार साँझ ६:३२ बजे सामाजिक सञ्जालमार्फत दुवै देश एक ठोस शान्ति सम्झौतानजिक पुगेको जानकारी दिए।

ट्रम्पले वार्तालाई अगाडि बढाउन दुई साताको युद्धविराममा सहमति जनाए। यो घोषणा ट्रम्पले दिएको राति ८ बजेको समयसीमा भन्दा केही समयअघि मात्रै आएको हो। यदि यो समयसम्म सहमति नभएको भए अमेरिकाले इरानको ऊर्जा र यातायात संयन्त्रमाथि ठूलो आक्रमण गर्ने चेतावनी दिएको थियो।

यो युद्धविराम इरानले पनि लडाइँ रोक्ने र व्यापारिक जहाजका लागि होर्मुज जलडमरु पूर्ण रूपमा खुल्ला गर्ने सर्तमा आधारित भएको बताइएको छ। इरानले यी शर्तहरू पालना गर्ने प्रतिबद्धता जनाएको छ।

यसबीचमा आगामी दुई सातासम्म दुवै पक्षले स्थायी शान्ति सम्झौताका लागि थप छलफल गर्ने अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले उल्लेख गरेका छन्।

यो सहमतिपछि विश्व बजारमा यसको सकारात्मक प्रभाव देखिन थालिसकेको छ। कच्चा तेलको मूल्य धेरै दिनपछि प्रतिब्यारेल १०० डलरभन्दा तल झरेको छ भने अमेरिकी सेयर बजारमा पनि उछाल आएको छ।

मंगलबार बिहानसम्म यो सहमति होला भन्ने संकेत देखिएको थिएन। ट्रम्पले इरानी सभ्यतालाई ‘सधैँका लागि सिध्याइदिने’ चेतावनी दिएका थिए। एक अमेरिकी राष्ट्रपतिको मुखबाट यस्तो भड्काउपूर्ण र सैन्य धम्की आउनुलाई आधुनिक कूटनीतिमा आश्चर्यजनक मानिन्छ।

ट्रम्पको यो शैलीलाई लिएर अमेरिकाभित्रै पनि तीव्र आलोचना भएको छ। विपक्षी डेमोक्रेट्स नेताहरूले ट्रम्पको बयानको निन्दा गर्दै उनलाई पदबाट हटाउनुपर्नेसम्मको माग गरेका छन्।

कांग्रेस सदस्य जोक्विन कास्त्रोले ट्रम्प नेतृत्व गर्न अयोग्य रहेको बताएका छन् भने सिनेटर चक शुमरले युद्ध रोक्न नचाहने रिपब्लिकनहरूले यसको परिणाम भोग्नुपर्ने चेतावनी दिएका छन्।

ट्रम्पकै रिपब्लिकन पार्टीका कतिपय नेताहरूले पनि उनको ‘सभ्यता नै सिध्याउने’ धम्कीको विरोध गरेका छन्। रिपब्लिकन सदस्य अस्टिन स्कट र सिनेटर रोन जोनसनले यस्तो धम्कीलाई ‘ठूलो गल्ती’ र ‘अमेरिकी सिद्धान्तविपरीत’ भनेका छन्।

यद्यपि, ह्वाइट हाउसले भने ट्रम्पको यही दबाबले गर्दा इरान युद्धविरामका लागि बाध्य भएको तर्क गरेको छ।

चैत २५, २०८२ बुधबार ११:४३:३६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।