इराकमा अपहरणमा परेकी अमेरिकी पत्रकार रिहा

इराकमा अपहरणमा परेकी अमेरिकी पत्रकार रिहा

एजेन्सी : इराकको बगदादमा अपहरणमा परेकी अमेरिकी महिला पत्रकार शैली किटलसनको रिहाइ भएको छ। अमेरिकी विदेशमन्त्री मार्को रुबियोले बुधबार उनको रिहाइबारे आधिकारिक जानकारी दिएका हुन्।

अमेरिकी स्वतन्त्र (फ्रिल्यान्स) पत्रकार किटलसनलाई गत मार्च ३१ मा ‘कताइब हिजबुल्लाह’ नामक संगठनले अपहरण गरेको थियो। उक्त संगठनले मंगलबार नै उनलाई रिहा गर्ने घोषणा गरेको थियो।

पत्रकार किटलसन मुक्त भएपछि अमेरिकी विदेशमन्त्री रुबियोले सामाजिक सञ्जाल 'एक्स' मार्फत खुसी व्यक्त गरेका छन्।

उनले लेखेका छन्, ‘अमेरिकी विदेश मन्त्रालय एफबीआई, रक्षा विभाग, अमेरिकी कर्मचारीहरू, इराकी सर्वोच्च न्यायिक परिषद र इराकी साझेदारहरूलाई धन्यवाद दिन चाहन्छु, जसले यो रिहाइमा सहयोग पुर्याउनुभयो।’

‘यो घटनाले विश्वको जुनसुकै कुनामा रहे पनि अमेरिकी नागरिकको सुरक्षाका लागि ट्रम्प प्रशासन कति प्रतिबद्ध छ भन्ने देखाउँछ,’ रुबियोले अगाडि लेखेका छन्, ‘राष्ट्रपति ट्रम्पको नेतृत्वमा अमेरिकी नागरिकको गलत गिरफ्तारी वा अपहरण सहन गरिने छैन। हामी हाम्रा नागरिकलाई घर फर्काउन र दोषीलाई सजाय दिन हरसम्भव प्रयास गरिरहनेछौँ।’

विदेशमन्त्री रुबियोका अनुसार अहिले पत्रकार किटलसन सुरक्षित छिन् र उनलाई इराकबाट बाहिर निकाल्न अमेरिकी अधिकारीहरूले सहयोग गरिरहेका छन्।

चैत २५, २०८२ बुधबार ११:२९:२६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।