इरान-अमेरिका युद्धविरामबारे इजरायलको पहिलो प्रतिक्रिया
एजेन्सी : अमेरिका र इरानबीच भएको युद्धविरामको निर्णयलाई इजरायलले स्वीकार गरेको छ। तर, उसले लेबनानको हकमा भने यो युद्धविराम लागू नहुने स्पष्ट पारेको छ।
इजरायलले एक आधिकारिक वक्तव्य जारी गर्दै इरानमाथिको आक्रमण रोक्ने अमेरिकी कदमलाई सर्तसहित समर्थन जनाएको हो।
वक्तव्यमा भनिएको छ, ‘इरानमाथिको आक्रमण दुई साताका लागि रोक्ने राष्ट्रपति ट्रम्पको निर्णयलाई हामी समर्थन गर्छौं। तर, यसका लागि इरानले तत्काल स्ट्रेट अफ हर्मुज खुला गर्नुपर्छ र अमेरिका, इजरायल तथा अन्य देशहरूमाथिको आक्रमण बन्द गर्नुपर्छ।’
यसका साथै, इरानलाई परमाणु हतियार सम्पन्न हुनबाट रोक्ने अमेरिकी प्रयासमा आफ्नो पूर्ण साथ रहेको इजरायलले जनाएको छ।
‘इरान अब अमेरिका, इजरायल, आफ्ना अरब छिमेकीहरू र सिंगो विश्वका लागि परमाणु हतियार, मिसाइल वा आतंकको खतरा नबनोस् भन्ने सुनिश्चित गर्ने अमेरिकी प्रयासलाई इजरायल समर्थन गर्दछ’, वक्तव्यमा अगाडि भनिएको छ।
इजरायलका अनुसार, अमेरिकाले यी लक्ष्यहरू हासिल गर्न आफू पूर्ण रूपमा प्रतिबद्ध रहेको र आगामी दिनमा हुने वार्ताहरूमा इजरायल तथा क्षेत्रीय सहयोगीहरूसँग समन्वय गर्ने आश्वासन दिएको छ।
यसअघि युद्धविरामको घोषणा गर्दै मध्यस्थकर्तासमेत रहेका पाकिस्तानका प्रधानमन्त्री शहबाज सरिफले सामाजिक सञ्जाल एक्समार्फत ‘लेबनानमा पनि युद्धविराम लागू हुने’ बताएका थिए।
तर, इजरायलले लेबनानमा आफ्नो सैन्य कारबाही नरोकिने स्पष्ट पारेसँगै पाकिस्तानी प्रधानमन्त्रीको उक्त दाबी खारेज भएको छ। यसले हिजबुल्लाहविरुद्ध लेबनानमा चलिरहेको इजरायली आक्रमण तत्काल नरोकिने प्रस्ट भएको छ।
चैत २५, २०८२ बुधबार ०९:२३:१२ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।