विदेशी राजदूतहरूसँग सामूहिक भेटवार्ता गर्दै प्रधानमन्त्री बालेन
काठमाडौं : प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)ले आज नेपालस्थित विदेशी कूटनीतिक नियोगका प्रमुख तथा राजदूतहरूसँग सामूहिक भेटवार्ता गर्दैछन्।
यस उच्चस्तरीय भेटवार्तामा नवनियुक्त परराष्ट्रमन्त्री शिशिर खनालको पनि उपस्थिति रहनेछ। भेट प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा हुनेछ।
सामान्यतया प्रधानमन्त्रीले विदेशी राजदूतहरूसँग छुट्टाछुट्टै भेट्ने प्रचलन रहिआएकोमा यसपटक एकैपटक सामूहिक रूपमा संवाद गर्न लागिएको हो।
प्रधानमन्त्री शाहका प्रमुख राजनीतिक सल्लाहकार असीम शाहले यस सामूहिक संवादलाई नेपालको कूटनीतिक अभ्यासमा एउटा महत्त्वपूर्ण र नौलो कदमको रूपमा अर्थ्याएका छन्।
सल्लाहकार शाहले भने, ‘प्रधानमन्त्री र परराष्ट्रमन्त्रीसहित विदेशी राजदूतहरूसँग हुन लागेको यो सामूहिक संवादले नेपालको कूटनीतिक मर्यादा र अभ्यासमा एउटा नयाँ मापदण्ड (बेन्चमार्क) स्थापित गर्नेछ।’
नयाँ सरकार गठन भएसँगै अन्तर्राष्ट्रिय समुदायलाई सरकारको परराष्ट्र नीति, प्राथमिकता र आगामी कूटनीतिक दिशाबारे एउटै मञ्चबाट स्पष्ट सन्देश दिन यो सामूहिक भेटवार्ता आयोजना गरिएको उनको भनाइ छ।
चैत २५, २०८२ बुधबार ०७:३८:२५ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।