पाकिस्तानको मध्यस्थतामा दुई साताका लागि रोकियो युद्ध, इरानको १० मध्ये ८ प्रस्तावमा अमेरिका सहमत
एजेन्सी : पाकिस्तानको मध्यस्थतामा अमेरिका र इरान दुई साता लामो युद्धविराम गर्न सहमत भएका छन्।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पाकिस्तानको नेतृत्वसँगको कुराकानीपछि इरानले ‘होर्मुज जलडमरु’बाट जहाजहरूको आवतजावतलाई अनुमति दिएमा अमेरिका र इरानबीच युद्धविराम हुने बताएका छन्।
उनले भनेका छन्, ‘म इरानमाथिको बमबारी र आक्रमणलाई दुई साताका लागि रोक्न सहमत छु।’
ट्रम्पले यो युद्धविराममा दुवै पक्ष सहमत भएको जानकारी दिए। तर, इरानले होर्मुज जलडमरुलाई पूर्ण, तत्काल र सुरक्षित रूपमा खोल्न राजी भए मात्र आफू यो दुई साताको युद्धविरामका लागि तयार हुने सर्त उनले राखेका छन्।
उता, इरानका विदेशमन्त्री अब्बास अरागचीले पनि आफूहरूमाथिको आक्रमण रोकिएमा इरान युद्धविरामका लागि तयार हुने घोषणा गरेका छन्।

उनले भने, ‘यो दुई साताको अवधिमा होर्मुज जलडमरुबाट जहाजहरूको सुरक्षित आवतजावत सम्भव हुनेछ।’ अरागचीका अनुसार यो व्यवस्था इरानको सशस्त्र सेनासँगको समन्वयमा र प्राविधिक सीमितताहरूलाई समेत ध्यानमा राखेर लागू गरिनेछ।
यसअघि अमेरिकी राष्ट्रपति ट्रम्पले इरानविरुद्ध पाँच सातादेखि चलिरहेको अमेरिका-इजरायल युद्धका क्रममा विभिन्न समयसीमा तोक्ने, मागहरू राख्ने र धम्की दिने गरेका थिए।
उनले इरानमाथिको नयाँ आक्रमण निकै विनाशकारी हुने र ४ घण्टाभित्र देशका हरेक पुल र पावर प्लान्ट ध्वस्त पार्ने चेतावनी समेत दिएका थिए।
ट्रम्पले के भने?
आफ्नो सामाजिक सञ्जाल ‘ट्रुथ सोसल’मा लामो पोस्ट गर्दै ट्रम्पले लेखेका छन्, ‘पाकिस्तानका प्रधानमन्त्री शाहबाज सरिफ र सेना प्रमुख असिम मुनिरसँगको कुराकानी र उहाँहरूको अनुरोधका आधारमा म इरानमाथिको विनाशकारी सैन्य कारबाहीलाई हालका लागि दुई सातासम्म रोक्न सहमत भएको छु। तर, यसका लागि इरानले होर्मुज जलडमरु पूर्ण र सुरक्षित रूपमा खोल्नुपर्नेछ।’

उनले यसलाई ‘दुईतर्फी युद्धविराम’ भनेका छन्। अमेरिकाले आफ्नो सबै सैन्य उद्देश्य पूरा गरिसकेको दाबी गर्दै उनले इरानसँग दीर्घकालीन शान्ति र मध्यपूर्वमा स्थायी शान्तिका लागि निर्णायक सम्झौताको नजिक पुगेको बताएका छन्।
ट्रम्पका अनुसार इरानबाट १० बुँदे प्रस्ताव प्राप्त भएको छ, जसलाई वार्ताको व्यावहारिक आधार मानिएको छ। धेरैजसो महत्त्वपूर्ण मुद्दामा सहमति भइसकेको र यो दुई साताको समय सम्झौतालाई अन्तिम रूप दिन प्रयोग गरिने उनले बताए।
इरानको भनाइ र सर्तहरू
इरानको सर्वोच्च राष्ट्रिय सुरक्षा परिषद्ले सर्तसहित युद्धविरामको घोषणा गरेको छ। सम्झौताको विस्तृत विवरणलाई अन्तिम रूप दिन बढीमा १५ दिनभित्र पाकिस्तानको राजधानी इस्लामावादमा वार्ता हुने इरानले जनाएको छ।

परिषद्ले जारी गरेको बयानअनुसार अमेरिका निम्न कुराहरूमा सहमत भएको छ:
- इरानविरुद्ध आक्रामक कारबाही नदोहोर्याउने ग्यारेन्टी।
- होर्मुज जलडमरुमा इरानको नियन्त्रण कायमै रहने।
- युरेनियम संवर्द्धनलाई स्वीकार गर्ने।
- इरानमाथिका सबै प्रतिबन्धहरू फुकुवा गर्ने।
- संयुक्त राष्ट्र सुरक्षा परिषद् र अन्तर्राष्ट्रिय आणविक ऊर्जा एजेन्सीका सबै प्रस्तावहरू खारेज गर्ने।
- इरानलाई क्षतिपूर्ति दिने।
- मध्यपूर्व क्षेत्रबाट अमेरिकी लडाकु फौज फिर्ता गर्ने।
- लेबनानको ‘इस्लामिक रेजिस्टेन्स’ विरुद्धको कारबाहीसहित सबै मोर्चाहरूमा युद्ध रोक्ने।
चैत २५, २०८२ बुधबार ०७:०४:४९ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।