श्रम बेच्न दुबई, सीप बेच्न मायाँटार: अनुभवले बदलिएको टीकाबहादुरको जीवन

श्रम बेच्न दुबई, सीप बेच्न मायाँटार: अनुभवले बदलिएको टीकाबहादुरको जीवन

चितवन : दश वर्षसम्म दुबईको चर्को गर्मीमा पसिना बगाएपछि चितवन, इच्छाकामना–३ मायाँटारका टीकाबहादुर गुरुङले एउटा निर्णय लिए-पुन: विदेश नफर्कने र आफ्नै पुख्र्यौली घरलाई पर्यटकीय गन्तव्य बनाउने। 

 गुरुङले इच्छाकामना गाउँपालिका–३ मायाँटारमा बाटो छेउमा रहेको आफ्नै घरबाट घरबास (होमस्टे) सुरु गरे। 

विसं १९७८ मा बनेको पुरानो सैलीको घरमा बाटो हिँड्नेहरुलाई बास दिने चलन थियो। यही बाटो हुँदै उपरदाङ्गढी, शक्तिखोर, हुग्दी खोला, इच्छाकामना मन्दिर, फिस्लीङ्लगायतका ठाउँमा हिडेर जानेहरु रातमा यही बास बस्ने गर्थे। गुरुङले भने, “बाटोको घर भएकाले यही बाटो हुँदै हिँडडुल गर्नेहरुको बस्ने थलो हो यो”, उनले थपे “हामीले पहिला देखिनै खान खान दिन्थ्यौँ, मान्छे सुताउँथ्यौँ।” 

दश वर्षको वैदेशिक रोजगारपछि फर्किएका गुरुङले चार वर्ष अघि यो घरलाई मर्मतसम्भार गरेर होमस्टेका लागि कोठा बनाए। दुबईमा होटलमा काम गरेको अनुभव लिएका उनले फेरि फर्किएर जानुभन्दा यही केही गर्ने सोच बनाए। 

दुबईमा मासिक एक लाख कमाउने गुरुङ यहाँ तीन जनालाई रोजगारी दिएर ८० हजार हाराहारी कमाई हुन थालेपछि विदेश जाने योजना स्थगित गरेर यही घरबास सञ्चालन गरेको बताउँछन्। साथी भाइको सुझावलाई मनन गर्दै उनले आफ्नो पुरानो घरमा होमस्टे बनाए।

उनले भने, “यही घरबाट सुरु गरेको पहिलो पिँढीमा दुईवटा कोठा र पछि दुईवटा गरेर चारवटा कोठा तयार भयो।” यही घरमा उनीहरुको परिवार बस्थ्यो। 

जिल्लाको पहाडी भूभागमा होमस्टे बने पछि त्यहाँ जानेहरुको चहलपहल बढ्न थाल्यो। गर्मीको मौसममा जानेहरु बढी हुन थाले। बिहानै घाम लाग्ने भएकाले जाडो महिनामा पनि रात बिताउन जानेहरु बढ्न थालेपछि आफूले होमस्टे विस्तार गरेको उनी बताउँछन। अहिले घर बाहिर पनि कोठा बनाएका छन्। एघार वटा कोठा छन्। तीमध्ये चार वटामा सँगै शौचालय पनि छ। 

उनले भने, “पाहुनाको मागअनुसार विस्तार गर्दै छौँ।” हिजो मायाँटार सुगम जिल्ला भएर पनि कर्णालीजस्तो रहेको भन्दै उनले बाटो, बत्ती लगायतका अन्य पूर्वाधार भए पछि अब मायाँटार पर्यटकीय गन्तव्य बन्न सकेको उनी बताउँछन्। 

दुई वर्षयता मायाँटारमा बिजुली बत्ती पुगेको छ। त्यस अघि पाहुनालाई टुकी र सोलारको उज्यालोमा राख्ने गरेको उनी बताउँछन्। मायाँटार चिनाउन चितवनका पत्रकारको भूमिका रहेको भन्दै उनले भने, “मायाँटार मायाँटार बन्नुमा पत्रकारको ठूलो हात छ। समाचारकै कारण यहाँ बिजुली आयो र घुम्ने ठाउँ हो भन्ने प्रचार भयो।” 

मायाँटार घुम्न आउनेहरुका लागि यहाँको रमणीय वातावरणसँगै नजिकै रहेको बालगौरी पाथीभरा मन्दिर प्रमुख गन्तव्य हो। सेतो पहरा गुफा यहाँबाट १५ मिनेटको दूरीमा छ। तीन किलोमिटर पर पर्यटकीय गन्तव्य रिग्दी खोला छ। जहाँ चिसो पानीमा नुहाउन र असला माछा पाइन्छ। 

त्यस्तै उपरदाङ्गढी यहाँबाट नजिकै पर्दछ। प्रचार हुँदै गए पछि पाहुनाको चाप हुन थालेको छ। एक रातमा ४० जनासम्म राख्ने क्षमता आफूसँग रहेको भन्दै उनले अहिले वरपर अरुले पनि घरबास बनाउन थालेको बताए। 

बिदाको दिनमा पहिलेनै फोनमार्फत बुकिङ हुने गरेको उहाँ बताउनुहुन्छ । आफूले स्थानीय उत्पादित खानेकुरा पाहुनालाई खुवाउने गरेको गुरुङले बताउनुभयो । त्यही उत्पादन भएको फर्सी, स्कुस, निगुरो, लोकल कुखुरा, बोका, खसीजस्ता स्थानीय उत्पादनमा पाहुना रमाउने गर्दछन् । 

चितवनको तराई क्षेत्रमा अत्यधिक गर्मी हुँदा पनि त्यहाँ सिरक ओढेर सुत्नुपर्छ। यहाँ चितवनसहित काठमाडौँ, मकवानपुर, पर्सा, नवलपरासी, कास्कीलगायतका धेरै जिल्लाबाट आन्तरिक पर्यटक घुम्न आउने गर्छन्।

यो समुन्द्रिक सतहबाट करिब तीन हजार ५०० मिटर उचाइमा छ। भरतपुरबाट एक घण्टा ३० मिनेट हाराहारीको यात्रामा यहाँ पुग्न सकिन्छ। शक्तिखोर हुँदै त्यहाँ पुग्ने सडक कालोपत्रे छ। यही सडक हुँदै पृथ्वी राजमार्गको धादिङको हुग्दी खोला, धादिङ र चितवनको सिमानामा पर्ने मौवा खोला र चितवनको फिस्लिङमा पुग्न सकिन्छ। राजमार्ग तर्फबाट पनि त्यतीनै समयमा मायाँटार आउन सकिन्छ। 

चैत २४, २०८२ मंगलबार ११:२१:०७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।