आन्ध्र प्रदेशको स्थायी राजधानी बन्यो अमरावती
एजेन्सी : भारतको आन्ध्र प्रदेश राज्यले अन्ततः आफ्नो आधिकारिक र स्थायी राजधानीका रूपमा ‘अमरावती’लाई पाएको छ। भारत सरकारले सोमबार यससम्बन्धी राजपत्रमा सूचना जारी गर्दै अमरावतीलाई स्थायी राजधानीको कानुनी दर्जा दिएको हो।
राष्ट्रपति द्रौपदी मुर्मूले ‘आन्ध्र प्रदेश पुनर्गठन (संशोधन) विधेयक, २०२६’ लाई प्रमाणीकरण गरेसँगै यो निर्णय कार्यान्वयनमा आएको हो। राष्ट्रपतिको स्वीकृतिपछि केन्द्र सरकारले आधिकारिक रूपमा यसको घोषणा गरेको हो।
राजधानीको टुङ्गो लागेपछि आन्ध्र प्रदेशका मुख्यमन्त्री एन. चन्द्रबाबु नायडू र उपमुख्यमन्त्री पवन कल्याणले खुसी व्यक्त गरेका छन्। मुख्यमन्त्री नायडूले सामाजिक सञ्जाल ‘एक्स’मार्फत राष्ट्रपति मुर्मूलाई धन्यवाद दिँदै यो निर्णयले आन्ध्र प्रदेशका जनताको वर्षौँदेखिको सपना पूरा भएको बताएका छन्।
‘आन्ध्र प्रदेशका जनताको तर्फबाट म राष्ट्रपति द्रौपदी मुर्मूज्यूलाई हृदयदेखि नै धन्यवाद दिन चाहन्छु,’ नायडूले लेखेका छन्, ‘यसबाट हाम्रो राजधानीको पुरानो सपना साकार भएको छ।’
सन् २०१४ मा आन्ध्र प्रदेश विभाजित भएर तेलंगाना बनेपछि, १० वर्षसम्म (सन् २०२४ सम्म) हैदराबादलाई दुवै राज्यको साझा राजधानी तोकिएको थियो।
१० वर्षको समयसीमा सकिएपछि अहिले हैदराबाद पूर्ण रूपमा तेलंगानाको भएको छ र आन्ध्र प्रदेशले अमरावतीलाई आफ्नो मुख्य प्रशासनिक केन्द्रको रूपमा विकास गरिरहेको थियो।
बीचमा विशाखापट्टनम, अमरावती र कर्नुलको अवधारणा ल्याइए पनि हाल अमरावतीले नै आधिकारिक राजधानीको रूपमा मान्यता पाएको छ। विशाखापट्टनमलाई भने राज्यको प्रमुख आर्थिक र पर्यटकीय केन्द्र मानिन्छ।
चैत २४, २०८२ मंगलबार ११:१६:४१ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।