इरानले होइन, अब स्ट्रेट अफ हर्मुजबाट अमेरिकाले टोल उठाउँछ : राष्ट्रपति ट्रम्प

इरानले होइन, अब स्ट्रेट अफ हर्मुजबाट अमेरिकाले टोल उठाउँछ : राष्ट्रपति ट्रम्प

एजेन्सी : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले स्ट्रेट अप हर्मुजबाट इरानले नभई अमेरिकाले टोल उठाउनुपर्ने बताएका छन्। युद्ध समाप्त भएपछि विजेताको हैसियतले अमेरिकाले नै उक्त शुल्क असुल गर्नुपर्ने उनको तर्क छ।

सोमबार पत्रकारहरूले ‘के अमेरिकाले इरानलाई पानीजहाजहरूबाट शुल्क उठाउन दिने सम्झौता स्वीकार गर्छ?’ भनी सोधेको प्रश्नको जवाफ दिँदै ट्रम्पले उक्त कुरा बताएका हुन्।

ट्रम्पले भने, ‘हामीले किन टोल नउठाउने? उनीहरूले टोल पाउनुभन्दा म आफैँ यो काम गर्न रुचाउँछु। हामीले किन असुल नगर्ने? हामी विजेता हौँ, हामीले जित हासिल गरेका छौँ।’

यद्यपि, ट्रम्पले इरानसँग हुने जुनसुकै शान्ति सम्झौताको सर्तमा स्ट्रेट अफ हर्मुज खुला हुनुपर्ने कुरा अनिवार्य रूपमा समावेश हुनुपर्ने स्पष्ट पारेका छन्।

‘हामीलाई यस्तो सम्झौता चाहिएको छ, जुन मलाई स्वीकार्य होस्। र, त्यो सम्झौताको एउटा मुख्य सर्त भनेको त्यहाँबाट तेलको निर्बाध (स्वतन्त्र) आवतजावत हुनुपर्छ’, ट्रम्पले पत्रकारहरूसँग भने।

यसअघि इरानले होर्मुज स्ट्रेट भएर आवतजावत गर्ने व्यावसायिक पानीजहाजहरूसँग टोल असुल गर्ने चेतावनी दिएको थियो। इरानको सोही भनाइलाई लिएर ट्रम्पको यस्तो प्रतिक्रिया बाहिरिएको हो।

चैत २४, २०८२ मंगलबार ०९:४९:३५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।