‘राम नाम सत्य’पछि फिल्म क्षेत्रमै लाग्ने आयुषको दाबी, टिकटकको ‘क्रेज’ हलमा देखिएला?
काठमाडौं : टिकटकमा लाखौं फलोअर्सले रुचाएका आयुष सिंह ठकुरी अब भने ‘ठूलो पर्दा’को परीक्षामा होमिने भएका छन्।
माइकल चन्दको निर्देशनमा बनेको सस्पेन्स-थ्रिलर फिल्म ‘राम नाम सत्य’बाट आयुषले हिरोका रूपमा डेब्यु गर्दैछन्। आउँदो चैत २७ गते रिलिज हुने यो फिल्मलाई लिएर आयुष यतिबेला निकै ‘एक्साइटेड’ देखिएका छन्।
रिलिजको पूर्वसन्ध्यामा मिडियासँग गफिएका आयुषका अनुसार उनलाई अरू फिल्मबाट पनि अफर नआएको होइन। तर, ‘राम नाम सत्य’को कथाले उनलाई यस्तो तान्यो कि, उनले नाइँ भन्नै सकेनन्।
फिल्ममा आफ्नो भूमिकालाई लिएर आयुषले ‘सस्पेन्स’ राखेका छन्। फिल्म हेर्दा दर्शकले ‘सरप्राइज’ महसुस गर्ने उनको दाबी छ।
‘ट्रेलरमा मेरो एउटा डाइलग छ, तर मेरै घरपरिवार र आफन्तले त्यो मेरो बोली हो भनेर चिन्नै सक्नुभएन! पछि मै हुँ भनेपछि उहाँहरू छक्क पर्नुभयो’, आयुषले सुनाए।
टिकटकमा भिडिओ हेरेर ‘लाइक’ गर्नु र पैसा तिरेर हलमा फिल्म हेर्न जानु पक्कै फरक कुरा हो। बक्स अफिसको व्यापारबारे अहिल्यै धेरै नसोचेको बताउने आयुषलाई आफ्ना फलोअर्सप्रति भने राम्रै भरोसा गरेका छन्।
रोचक कुरा त के छ भने, विदेशमा बस्ने उनका फ्यानहरूले नेपालमा रहेका आफन्तका लागि टिकट काटिदिनेदेखि हल नै बुक गरिदिनेसम्मको आश्वासन दिएका छन् रे!
आयुष यतिमै रोकिने मुडमा छैनन्। पहिलो फिल्म रिलिज नहुँदै उनले यसको सिक्वेल बन्ने ‘हिन्ट’ दिइसकेका छन्।
‘सिक्वेलमा मेरो रोल के हुन्छ भन्ने बुझ्न पनि दर्शकले यो पहिलो भाग त छुटाउनै हुँदैन,’ आयुषले भने। अब भने आफूलाई झन् निखारेर निरन्तर फिल्ममै लागिरहने उनको योजना छ।
हुन त यो फिल्ममा आयुष एक्ला स्टार होइनन्। उपेन्द्र शाही र स्वेता विमलीले निर्माण गरेको यस फिल्ममा विराज भट्ट, सुशील श्रेष्ठ, सुपुष्पा भट्ट, दिव्या रायमाझी, प्रशान्त ताम्राकार र सुनील थापाजस्ता नाम चलेका स्टारहरूको लस्कर छ।
नयाँ वर्षको छेको पारेर ‘सोलो रिलिज’ हुन लागेको यो फिल्मले बम्पर ओपनिङ गर्ने आशमा वितरकहरू मख्ख छन्। अब हेर्न बाँकी छ- टिकटकका यी चकलेटी स्टारलाई हलका दर्शकले कत्तिको पत्याउने हुन्!
चैत २४, २०८२ मंगलबार ०९:०७:२० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।