ज्योति विकास बैंकको सहयोगमा सप्तरीका ७० जनाको निःशुल्क मोतिबिन्दु शल्यक्रिया
काठमाडौं : ज्योति विकास बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत सप्तरीका ७० जना विपन्न नागरिकको निःशुल्क मोतिबिन्दु शल्यक्रिया गराएको छ।
बैंकले तिलगंगा आँखा प्रतिष्ठानसँगको सहकार्यमा स्थापना गरेको ‘हाम्रो विकास प्रवर्द्धन कोष’ मार्फत उक्त सहयोग गरेको हो।
सप्तरीको रुपनगरस्थित तिलगंगा सर्जिकल आँखा केन्द्रमा आयोजित निःशुल्क स्वास्थ्य शिविरमार्फत बिरामीहरूलाई यो सेवा प्रदान गरिएको हो।
बैंकका अनुसार उक्त शिविरमा २ हजारभन्दा बढी व्यक्तिको निःशुल्क आँखा जाँच गरिएको थियो।
जसमध्ये ४०७ जनाको मोतिबिन्दु शल्यक्रिया सम्पन्न भएकोमा ७० जनाको शल्यक्रिया ज्योति विकास बैंकको प्रत्यक्ष आर्थिक सहयोगमा भएको हो।
साथै, शल्यक्रिया गरेका सबै ४०७ जना बिरामीलाई आवश्यक चस्मा र औषधि पनि बैंककै तर्फबाट निःशुल्क वितरण गरिएको छ।
बैंकले आफ्नो १७औं वार्षिकोत्सवको अवसरमा तिलगंगा आँखा प्रतिष्ठानसँग निःशुल्क मोतिबिन्दु शल्यक्रिया सेवा प्रदान गर्ने सम्झौता गरेको थियो।
सोही घोषणा अनुरूप दृष्टिविहीन हुन सक्ने जोखिममा रहेका समुदायलाई लक्षित गरी यो शिविर सञ्चालन गरिएको बैंकले जनाएको छ।
चैत २४, २०८२ मंगलबार ०८:५०:५६ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।