पाटनका ‘हेरिटेज स्टे’ अब एउटै प्लेटफर्मबाट अनलाइन बुकिङ गर्न सकिने
काठमाडौं : ललितपुरको ऐतिहासिक पाटन क्षेत्रमा रहेका होमस्टे, हेरिटेज होम तथा होटलहरू अब एउटै अनलाइन प्लेटफर्मबाट सहजै बुकिङ गर्न सकिने भएको छ।
पाटनको हेरिटेज (सम्पदा) पर्यटनलाई प्रवर्द्धन गर्ने र डिजिटल बुकिङ प्रणाली विस्तार गर्ने उद्देश्यले ‘ई–बुकिङ नेपाल प्रा.लि.’ र ‘पाटन स्टे एसोसिएसन’बीच रणनीतिक सम्झौता भएको छ।
सम्झौताअनुसार ई-बुकिङ नेपाल अब पाटन स्टे एसोसिएसनमा आबद्ध सम्पत्तिहरू (होमस्टे, हेरिटेज होम, बी एन्ड बी, होटल, लज तथा अपार्टमेन्ट) को 'एक्सक्लुसिभ' (एकल) डिजिटल बुकिङ पार्टनर बनेको छ।
यस सहकार्यसँगै पाटन क्षेत्रका सम्पूर्ण सहभागी आवास सेवाहरूलाई एउटै छातामुनि ल्याइनेछ। ग्राहकको सुविधाका लागि ई-बुकिङ नेपालको डिजिटल प्लेटफर्ममा पाटन हेरिटेज स्टे नामको विशेष क्याटेगोरी नै तयार गरिने कम्पनीले जनाएको छ।
यो प्रणाली लागू भएपछि स्वदेशी तथा विदेशी पर्यटकहरूलाई पाटन क्षेत्रमा बास बस्नका लागि सुरक्षित र भरपर्दो गन्तव्य खोज्न तथा अनलाइनमार्फत सहजै बुकिङ गर्न मद्दत पुग्नेछ।
पर्यटकको थप सुविधाका लागि सम्बन्धित सम्पत्तिहरूमा क्युआर कोडमा आधारित बुकिङ प्रणालीसमेत लागू गरिनेछ, जसबाट अतिथिले सिधै अनलाइन बुकिङ गर्न सक्नेछन्।
आगामी दिनमा दुवै संस्थाले संयुक्त रूपमा पाटनको संस्कृति, सम्पदा र पर्यटकीय गतिविधिहरूको डिजिटल माध्यमबाट विश्वव्यापी प्रचारप्रसार गर्नेछन्।
यस सहकार्यले स्थानीय आवास व्यवसायलाई सहयोग पुग्ने, डिजिटल बुकिङ बढ्ने र पाटनलाई नेपालकै प्रमुख ‘हेरिटेज स्टे गन्तव्य’का रूपमा स्थापित गर्न मद्दत पुग्ने अपेक्षा गरिएको छ।
यस सम्झौताले नेपालको पर्यटन क्षेत्रलाई स्थानीय स्तरबाटै डिजिटल रूपमा व्यवस्थित र मजबुत बनाउन महत्त्वपूर्ण भूमिका खेल्ने दुवै पक्षले विश्वास लिएका छन्।
चैत २४, २०८२ मंगलबार ०८:४५:५९ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।