काठमाडौंको गौशालामा प्रहरीले चलायो गोली, एक किलो खैरो हिरोइनसहित दुई भारतीय पक्राउ

काठमाडौंको गौशालामा प्रहरीले चलायो गोली, एक किलो खैरो हिरोइनसहित दुई भारतीय पक्राउ

काठमाडौं : काठमाडौंको गौशालामा लागुऔषध कारोबारीलाई नियन्त्रणमा लिने क्रममा प्रहरीले गोली चलाएको छ।

एक किलोभन्दा बढी अवैध लागुऔषध ‘खैरो हिरोइन’सहित दुई जना भारतीय नागरिकलाई पक्राउ गर्न लागुऔषध नियन्त्रण ब्युरोको टोलीले गए राति गोली चलाएको हो।

ब्युरोका प्रमुख कृष्ण कोइरालाका अनुसार, गोप्य सूचनाका आधारमा खटिएको प्रहरी टोलीले कारोबारीलाई पक्राउ गर्न खोज्दा उनीहरूले प्रहरीको निर्देशन अटेर गरेका थिए।

प्रहरीलाई छलेर भाग्न खोजेपछि नियन्त्रणमा लिन बाध्य भएर गोली चलाउनुपरेको प्रमुख कोइरालाले जानकारी दिए। प्रहरीले चलाएको गोली एक जना कारोबारीको खुट्टामा लागेको छ।

घाइते अवस्थामा पक्राउ परेका उनको हाल अस्पतालमा उपचार भइरहेको छ भने अर्का व्यक्तिलाई प्रहरीले नियन्त्रणमा राखेर अनुसन्धान गरिरहेको छ। पक्राउ परेका दुवै जना भारतीय नागरिक हुन्।

यो कारबाही केही दिनयता प्रहरीले चलाइरहेको अपरेसनकै निरन्तरता भएको ब्युरोले जनाएको छ।

‘केही दिनअघि मात्र हामीले लागुऔषधका अन्य केही कारोबारीलाई पक्राउ गरेका थियौँ,’ ब्यूरो प्रमुख कोइरालाले भने, ‘उनीहरूमाथि गरिएको अनुसन्धान र तिनैले दिएको सूचनाका आधारमा यो ठूलो परिमाणको लागुऔषधसहित थप गिरोहलाई पक्राउ गर्न सफल भएका हौँ।’

बरामद भएको एक किलोभन्दा धेरै खैरो हिरोइनको बजार मूल्य करोडौँ पर्ने प्रहरीको भनाइ छ। यस विषयमा ब्युरोले थप अनुसन्धान अघि बढाएको छ।

चैत २४, २०८२ मंगलबार ०७:०४:५६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।