रुपन्देहीमा गोली चल्यो

रुपन्देहीमा गोली चल्यो

बुटवल : रुपन्देहीको रोहिणी गाउँपालिकामा प्रहरी र लागुऔषध कारोबारीबीच जम्काभेट हुँदा गोली चलेको छ।

सोमबार राति रोहिणी-४, कोटहवामा प्रहरीले चलाएको गोली लागि एक जना कारोबारी घाइते भएका छन् भने अन्य दुई जना पक्राउ परेका छन्।

जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी नायब उपरीक्षक (डिएसपी) कृष्ण चन्दका अनुसार, कोटहवा क्षेत्रमा लागुऔषधको कारोबार हुन लागेको गोप्य सूचनाका आधारमा लागुऔषध नियन्त्रण ब्युरो र जिल्ला प्रहरीको संयुक्त टोली त्यहाँ खटिएको थियो।

सोही क्रममा खडा गरिएको चेकप्वाइन्टमा युपी ५६ एफ ९९०१ नम्बरको भारतीय मोटरसाइकललाई प्रहरीले रोक्न खोजेको थियो। तर, चेकजाँच छलेर भाग्न खोज्दा मोटरसाइकल अनियन्त्रित भई पल्टिएको थियो।

मोटरसाइकल लडेपछि उनीहरूलाई नियन्त्रणमा लिन खोज्दा कारोबारीहरूले प्रहरीमाथि नै ढुंगामुढा गरेका थिए। आक्रमणबाट एक जना प्रहरी जवानसमेत घाइते भएका छन्।

स्थिति नियन्त्रणमा लिन र भाग्दै गरेका तस्करलाई रोक्न प्रहरीले घुँडाभन्दा तल एक राउन्ड गोली चलाएको डिएसपी चन्दले जानकारी दिए।

प्रहरीको गोली लागि रोहिणी-२, खुरूहुरियाका विशाल यादव घाइते भएका छन्। घाइते यादवलाई उपचारका लागि भैरहवास्थित भीम अस्पताल पठाइएको छ।

प्रहरीले घटनामा संलग्न अन्य दुई जनालाई नियन्त्रणमा लिएको छ। पक्राउ पर्नेमा भारतको महाराजगन्ज, पर्सामालिक ग्राम विसुनपुरवाका १८ वर्षीय अरुण कुमार र २० वर्षीय विनय पाण्डेय रहेका छन्।

पक्राउ परेकाहरूको साथबाट प्रहरीले ३ हजार ३ सय एम्पुल अवैध लागुऔषध बरामद गरेको छ। यस विषयमा प्रहरीले थप अनुसन्धान अघि बढाएको छ।

चैत २४, २०८२ मंगलबार ०६:५८:५० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।