'गाली नखाम भनेर नलेखुम भन्यो, फेरि हात सकसक गरेर हैरान'
काठमाडौं : गायिका ज्योति मगरलाई सामाजिक सञ्जालमा जति गाली सायदै अरू कसैलाई गरिन्छ! उनले लेख्ने स्टाटस र त्यसमा आउने प्रतिक्रियाहरू हेरिनसक्नुका हुन्छन्। कारण हो- उनले राष्ट्रिय स्वतन्त्र पार्टीका नेताहरू र प्रधानमन्त्री बालेन्द्र शाह 'बालेन'को अन्धसमर्थन नगर्नु।
त्यति मात्र होइन, उनलाई एमालेको 'झोले'को रूपमा टिप्पणी गर्ने गरिन्छ। गत प्रतिनिधिसभा निर्वाचनमा पूर्व प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीका लागि मत माग्न उनी झापा- ५ पुगेकी पनि थिइन्। ओलीलाई विजयी गराउन घर-घर पुगेर मत मागेका कारण उनी एमालेप्रति खुलेको भन्दै सामाजिक सञ्जालमा उनीमाथि निरन्तर आक्रमण हुने गरेको छ।
हक्की स्वभावकी ज्योति सामाजिक सञ्जालमार्फत हुने यस्ता आक्रमणलाई खासै वास्ता गर्दिनन्। सोमबार उनले नयाँ सरकार र शक्तिको भक्तिगान गाउन नसकेपछि 'हात सकसक गरेर' स्टाटस लेख्नु परेको उल्लेख गरेकी छन्। व्यङ्ग्यात्मक शैली उनले लेखेकी छन्, ‘नलेखुम, गाली नखाम, जो शक्तिमा छ। यसको जयजयकार गरुम भन्यो फेरि हात सकसक गरेर हैरान। नयाँले देश परिवर्तन गर्छ भन्थे, हो रैछ! बल्ल विश्वास हुँदैछ!’
व्यङ्ग्यात्मक शैलीमा नयाँ सरकार बनेपछिको आमूल परिवर्तन भन्दै उनले मन्त्रिपरिषद्का केही निर्णयहरूलाई फेसबुकमा पोस्ट गरेकी छन्। उनी लेख्छिन्, ‘हप्तामा २ दिन बिदा, एसईई सकेका विद्यार्थीहरूको बृज कोर्स खारेज, ७५ वर्षमा वृद्ध भत्ता (नेपालीको औसत आयु ७१ वर्ष ), सरकार पक्षको व्यक्ति अरबौंको सम्पत्ति छानबिन हुनु हुँदैन। अरू नागरिककोमा डोजर तत्काल हान।’
आइतबार सरकारले ९० मिलियन डलर ऋण स्वीकार गर्ने निर्णय गरेपछि उनले उक्त ऋण लिँदा कसैले विरोध नगरेकोमा आपत्ति जनाएकी छन्। नेपालीको थाप्लोमा ऋण थपिँदा कसैलाई वास्ता नभएको उनको तर्क छ। उनले सरकारलाई रिस उठेको भरमा कानुन र प्रमाण बिना नै मानिसहरूलाई नियन्त्रणमा लिने गरिएको आरोप समेत लगाएकी छन्।
‘डलरमा ऋण स्वीकार (अझै नेपाली थाप्लोमा कति थपिँदै जाने हो, त्यो कसैलाई बाल),’ उनले लेखेकी छन्, ‘हल्ला चलेको र रिस उठेको भरमा च्याप्प समाउँदै भित्र कोच्दै जाहेरी, उजुरी, कसुर केही नचाहिने (कानुन विपक्षलाई गलहत्त्याउन मात्र लाग्ने यदि अदालतले कानुन, प्रमाण र कसुरको आधारमा विपक्षको पक्षमा फैसला गरे २ तिहाइले न्यायाधीशलाई खारेज गर्न सक्ने हुँदा न्यायाधीश पनि डरले थुरथुर)।’
नयाँ सरकारले हरेक निकाय र व्यक्तिलाई धम्कीपूर्ण वातावरणमा राखेको ज्योतिको आरोप छ। यस्तो परिवर्तनले नेपाल समृद्ध र सुशासित हुने तथा नेपालीहरू सुखी हुने पक्का भएको भन्दै उनले कटाक्ष गरेकी छन्। आफूलाई अपमानजनक गाली गर्न मन लाग्नेहरूलाई गाली गर्न छुट दिँदै उनले यथार्थ लेख्न नछोड्ने अडान राखेकी छन्।
अन्त्यमा ‘बधाई छ हामी नेपालीलाई’ भन्दै उनले अहिलेको सरकारका पक्षधरहरूलाई अपराध गर्नसमेत छुट रहेको आशय व्यक्त गरेकी छन्। पछिल्लो समय गायिका मगर विभिन्न मेला-महोत्सवका साङ्गीतिक कार्यक्रममा व्यस्त छिन्। उनले र बद्री पंगेनीले गाएको गीत ‘झ्याप्पै’ले यतिबेला निकै चर्चा कमाइरहेको छ।
चैत २३, २०८२ सोमबार १९:०१:५५ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।