एनपिएलको दोस्रो सिजनमा ९ करोड २१ लाख नाफा भएको क्यानको दाबी
काठमाडौं : नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो सिजनबाट ९ करोड २१ लाख मुनाफा भएको विवरण सार्वजनिक गरेको छ। क्यानले सार्वजनिक गरेको प्रेस विज्ञप्तिमा उल्लेख भए अनुसार नेपाल क्रिकेट संघको सोमबार बसेको केन्द्रीय कार्यसमितिको बैठकमा एनपीएल गभर्निङ काउन्सिलले सो विवरण प्रस्तुत गरेको हो।
प्रेस विज्ञप्तिमा उल्लेख भए अनुसार क्यानले एनपीएलको दोस्रो सिजनबाट ४७ करोड ३६ लाख कुल आम्दानी गरेको छ। त्यसमध्ये प्रतियोगिता सञ्चालनमा २१ करोड ९६ लाख खर्च भएको विज्ञप्तिमा उल्लेख छ। प्रतियोगिता सञ्चालनको खर्च कटाएर २५ करोड ३९ लाख जोगिएकोमा त्यसमध्ये ८ फ्रेन्चाइज टोलीलाई ५० प्रतिशत दिने सम्झौता अनुसार १६ करोड १८ लाख दिएर बाँकी रहेको ९ करोड २१ लाख नाफा भएको उल्लेख छ।
यस अगाडि एनपिएलको खर्च विवरण पारदर्शी रूपमा नदेखाएको भन्दै केन्द्रीय समितिको बैठकमा अधिकांश पदाधिकारी उपस्थित नहुँदा कोरम नपुगेर बैठकै स्थगित भएको थियो। प्रवक्ता छुम्बी लामाले जारी गरेको विज्ञप्तिमा नेपाल प्रिमियर लिग परिचालन परिषद्ले प्रस्तुत गरेको एनपिएल दोस्रो सिजनको आय/व्यय विवरण अनुमोदन गर्ने निर्णय भएको उल्लेख छ।
एनपिएलको पहिलो सिजनमा २७ करोड ६९ लाख आम्दानी भएको विवरण सार्वजनिक भए पनि आम्दानी र खर्च पारदर्शी नभएको भन्दै सो विवरण केन्द्रीय समितिबाट अनुमोदन भएको थिएन। त्यसयता पहिलो संस्करणको आम्दानी र खर्च अनुमोदनबारे क्यानले आधिकारिक रूपमा सार्वजनिक गरेको छैन।
चैत २३, २०८२ सोमबार १९:०१:५० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।