ओली र लेखकको बन्दी प्रत्यक्षीकरण रिटमा सुनुवाइ सकियो
काठमाडौं : पूर्व प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओली र पूर्व गृहमन्त्री रमेश लेखकको बन्दी प्रत्यक्षीकरणको मुद्दामा सर्वोच्च अदालतमा सुनुवाइ सकिएको छ।
सर्वोच्चका न्यायाधीशद्वय विनोद शर्मा र सुनिलकुमार पोखरेलको संयुक्त इजलासमा सोमबार बहस सकिएसँगै आदेशको तयारी भइरहेको बताइएको छ।
आइतबार समय अभावका कारण ‘हेर्दा हेर्दै’मा राखिएको उक्त रिटमाथि सोमबार सरकारी पक्ष र निवेदक पक्ष दुवैले आफ्नो बहस टुङ्ग्याए। अध्यक्ष ओलीकी पत्नी राधिका शाक्य र नेता लेखककी पत्नी यशोदा लेखकले गत चैत १५ गते गैरकानुनी रूपमा थुनामा राखिएको दाबी गर्दै सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको रिट दायर गरेका थियो।
रिट निवेदनमा गत भदौ २३ र २४ गतेको घटनासम्बन्धी जाँचबुझ आयोगको प्रतिवेदनको सिफारिसलाई आधार बनाएर गरिएको पक्राउ र हिरासत गैरकानुनी रहेको जिकिर गरिएको छ। यसअघि चैत १६ गते न्यायाधीश मेघराज पोखरेलको इजलासले अध्यक्ष ओलीको हकमा र न्यायाधीश कुमार रेग्मीको इजलासले नेता लेखकको हकमा कारण देखाऊ आदेश जारी गरेको थियो।
चैत २३, २०८२ सोमबार १८:२१:४९ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।