सदनको नेतृत्व फेरिएसँगै सभामुखको आसनमा देखियो परिवर्तन, सांसद र सभामुखको कुर्सी एकै

सदनको नेतृत्व फेरिएसँगै सभामुखको आसनमा देखियो परिवर्तन, सांसद र सभामुखको कुर्सी एकै

काठमाडौं : नवनिर्वाचित सभामुख डोलप्रसाद अर्यालले सोमबार पहिलो पटक प्रतिनिधिसभा बैठकको अध्यक्षता गरे। यसअघि सभामुख चयन नहुँदासम्म ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले बैठकको अध्यक्षता गरेका थिए।

सभामुख र उपसभामुखको अनुपस्थिति वा पद रिक्त भएको बेला प्रतिनिधिसभा बैठकको अध्यक्षता ज्येष्ठ सदस्यले गर्ने संवैधानिक व्यवस्था छ। आइतबार सभामुखमा चयन भएका अर्यालले जिम्मेवारी सम्हालेसँगै सदनको आसनमा समेत परिवर्तन देखियो।

ज्येष्ठ सदस्य केसीले प्रयोग गरेको कुर्सी निकै आकर्षक र परम्परागत काष्ठकला शैलीको थियो। उक्त कुर्सीको माथिल्लो भागमा सुनौलो रङको काठको फ्रेम र कलात्मक बुट्टाहरू कुँदिएका थिए। ऐतिहासिक वास्तुकला झल्काउने उक्त आसनले सभामुखको पदलाई ओजपूर्ण र विशेष देखाउने प्रयास गरिएको थियो। 

तर, सोमबार अर्यालले बैठकको अध्यक्षता गरेसँगै उक्त भव्य कुर्सी हटाएर साधारण देखिने कुर्सी राखिएको छ। पहिलेको तुलनामा यो कुर्सी निकै सादा छ, जसमा कुनै बाहिरी बुट्टा वा सुनौलो फ्रेम छैन। आधुनिक तर सरल देखिने सभामुखको कुर्सीले पदको गरिमालाई तामझामभन्दा सेवकको रूपमा प्रस्तुत गर्ने मनोविज्ञानको संकेत देखिएको थियो। सोमबार भने सांसद र सभामुखले प्रयोग गर्ने कुर्सी समान देखियो।

आसनमा गरिएको परिवर्तनले पदमा बस्ने व्यक्ति र हेर्ने सर्वसाधारण दुवैलाई फरक अनुभूति गरायो। भव्य र कलात्मक आसनले शक्तिको मनोवैज्ञानिक बोध गराउँछ भने सादा कुर्सीले कार्यसम्पादनलाई सहज र जनमुखी प्रक्रियाका रूपमा चित्रण गर्न खोजेको देखिन्छ।

संसद् जस्तो गरिमामय निकायको आन्तरिक सजावट र पूर्वाधारमा देखिएको यो सानो परिवर्तनले धेरैको ध्यान खिचेको छ । 

चैत २३, २०८२ सोमबार १९:३३:१० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।