रुपन्देहीको मायादेवीमा उत्कृष्ट विद्यार्थीलाई भैँसी पुरस्कार
बुटवल : रुपन्देहीको मायादेवी गाउँपालिका-४ स्थित सुण्डी माध्यमिक विद्यालयले विद्यालयका उत्कृष्ट विद्यार्थीलाई भैँसी पुरस्कार दिने गरेको छ।
परिवारलाई आयआर्जनसँग जोड्न र विद्यार्थीलाई थप मिहिनेत गरेर पढ्न अभिभभावकले नै प्रोत्साहन गरुन् भन्ने उदेश्यले यहाँ भैँसी उपहार दिन थालिएको विद्यालयका प्रधानाध्यापक केशव पौडेलले जानकारी दिए।
‘हामीले शिक्षालाई जीवन र जीविकोपार्जनसँग जोड्न खोजेका हौँ,’ विद्यालयका प्रधानाध्यापक केशव पौडेलले भने, ‘भैँसी पुरस्कारले विद्यार्थीलाई पढाइमा टिकाउन र अभिभावकलाई शिक्षाप्रति सकारात्मक बनाउन निकै राम्रो काम गरेको छ।’
सुन्दा धेरैलाई अचम्म लाग्न सक्छ। तर, विद्यालयको यो अभियानले विद्यार्थीको शैक्षिक स्तर मात्र सुधारेको छैन, धेरै विपन्न परिवारको आयस्रोतसमेत बढाएको छ।
यस वर्ष भैँसी पुरस्कार पाउनेमध्येका एक हुन्, कक्षा ११ मा अध्ययनरत शिवकुमार यादव। उनका लागि यो भैँसी उपहार मात्र होइन, उच्च शिक्षाका लागि खर्च जुटाउने भरपर्दो स्रोत बनेको छ।
‘यो भैँसीबाट हुने आम्दानीले मेरो पढाइ खर्च धान्न ठूलो मद्दत पुग्नेछ’, शिवले भने।
दक्षिणी रुपन्देहीका अधिकांश परिवारको मुख्य पेसा कृषि र पशुपालन हो। आर्थिक अभावकै कारण बीचमै पढाइ छाड्ने विद्यार्थीको दर यहाँको मुख्य चुनौती थियो। विद्यार्थीलाई सैद्धान्तिक ज्ञान र प्रशंसा मात्र पर्याप्त नहुने देखेपछि विद्यालयले उनीहरूको पढाइलाई निरन्तरता दिने ठोस आधार खोज्यो।
यो कार्यक्रम सुरु भएपछि विद्यालयको शैक्षिक वातावरणमा उल्लेखनीय सुधार आएको छ।
आर्थिक अभावले विद्यालय छाड्ने दर घटेको छ भने ‘भैँसी पाउने’ लक्ष्यसहित कक्षामा नियमित उपस्थित हुने र उत्कृष्ट नतिजा ल्याउने प्रतिस्पर्धा बढेको छ। पहिले छोराछोरीलाई खेतबारीको काममा लगाउने अभिभावकहरू अहिले उनीहरूको पढाइमा लगानी र समय दिन थालेका छन्।
भैँसी पाउन के गर्नुपर्छ ?
भैँसी पुरस्कार पाउन त्यति सजिलो भने छैन। यसका लागि विद्यालयले हरेक वर्ष ‘पुस्तक समीक्षा प्रतियोगिता’ आयोजना गर्छ।
विद्यार्थीहरू समूहगत रूपमा सहभागी भएर आफ्नो विश्लेषणात्मक क्षमता प्रदर्शन गर्छन्। प्रतियोगितामा प्रथम र द्वितीय हुने समूहका विद्यार्थीलाई भैँसी प्रदान गरिन्छ भने अन्य सहभागीलाई प्रोत्साहनस्वरूप नगद पुरस्कार दिइन्छ।
विद्यालयको यो अभियानलाई सफल बनाउन दक्षिण कोरियाका प्रख्यात पर्वतारोही उम होङ गिल र उनको संस्थाले आर्थिक सहयोग गर्दै आएका छन्। उनको निरन्तर सहयोगकै कारण विद्यालयले हालसम्म ५१ वटा भैँसी वितरण गरिसकेको छ, जसमध्ये यसै वर्ष मात्रै १० वटा भैँसी बाँडिएको हो।
चैत २३, २०८२ सोमबार ०८:००:४९ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।