युएईका बैंकहरूद्वारा साना व्यवसायी र 'फ्रन्टलाइन' कर्मचारीलाई ऋण तिर्न विशेष सहुलियत
एजेन्सी : मध्यपूर्वमा अमेरिका, इजरायल र इरानबीचको बढ्दो द्वन्द्वका कारण व्यापार-व्यवसाय र आपूर्ति शृङ्खलामा असर पर्न थालेपछि संयुक्त अरब इमिरेट्स (युएई) का बैंकहरूले आफ्ना ग्राहकका लागि विशेष राहत सुविधा ल्याएका छन्।
युद्धका कारण विशेषगरी पर्यटन, यातायात (सिपिङ) र अन्य उद्योगहरू मारमा परेका छन्। यसैलाई मध्यनजर गर्दै बैंकहरूले साना तथा मझौला उद्योग र देशको सेवामा खटिने फ्रन्टलाइन कर्मचारीहरूलाई आर्थिक भार कम गर्न विभिन्न अफर ल्याएका हुन्।
अबुधाबी इस्लामिक बैंकले फ्रन्टलाइन कर्मचारी र साना व्यवसायीलाई राहत दिन ‘सन्दना’ नामको पहल सुरु गरेको छ।
साना तथा मझौला व्यवसायीले सन् २०२६ को अप्रिलदेखि जुनसम्मको किस्ता तिर्ने म्याद ३० देखि ६० दिनसम्म पर सार्न सक्नेछन्। साथै, बैंकले नयाँ पीओएस सेवामा ५० प्रतिशतसम्म शुल्क छुट दिनेछ।
त्यसैगरी फ्रन्टलाइन कर्मचारीहरू सेना, प्रहरी, रक्षा मन्त्रालयका कर्मचारी, सिभिल डिफेन्स र स्वास्थ्यकर्मीहरूको सम्मानमा बैंकले व्यक्तिगत र सवारीसाधन कर्जाको किस्ता तिर्न ३ महिनाको अतिरिक्त समय दिएको छ।
साथै, शिक्षाका लागि ब्याजमुक्त किस्ता, व्यक्तिगत कर्जामा ७ महिनासम्म र सवारी कर्जामा ६ महिनासम्मको ग्रेस पिरियड (छुट अवधि) पनि समावेश गरिएको छ।
फर्स्ट अबुधाबी बैंकले पनि फ्रन्टलाइन कर्मचारीका लागि सस्तो ब्याजदर, क्यासब्याक अफर, लचिलो भुक्तानी र ऋणको म्याद सार्ने सुविधासहितको सपोर्ट प्याकेज ल्याएको छ।
बैंकले फ्रन्टलाइन कर्मचारीलाई छिटो सेवा दिन उनीहरूको कार्यस्थल नजिकका २० वटा शाखाहरूबाट प्राथमिकताका साथ सेवा दिने र कल सेन्टरमार्फत पनि तत्काल रेस्पोन्स गर्ने व्यवस्था मिलाएको छ।
बैंककी अधिकारी फुतून हमदान अल मजरौईले भनिन्, ‘फ्रन्टलाइन हिरोहरूले दिनहुँ राष्ट्रको सेवा गर्छन्। उनीहरूको दैनिक दबाब कम गर्न र आर्थिक सहजता प्रदान गर्न हामी उनीहरूको साथमा छौँ।’
यस्तै अजमान बैंकले ‘तलाहोम’ अभियानअन्तर्गत ग्राहकलाई ३ महिनासम्म व्यक्तिगत ऋणको किस्ता सार्दा लाग्ने शुल्क पूर्ण रूपमा मिनाहा गरेको छ। नयाँ डिजिटल क्रेडिट कार्ड लिएर पहिलो पटक सामान खरिद गर्दा २०० प्रतिशत क्यासब्याक र आजीवन निःशुल्क (कुनै वार्षिक शुल्क नलाग्ने) कार्डको व्यवस्था गरिएको छ।
घर र गाडीको कर्जामा लाग्ने प्रोसेसिङ शुल्क (शून्य) हटाइएको छ भने ३ वर्षका लागि सम्पत्तिको निःशुल्क बिमा (तकाफुल) गरिदिने व्यवस्था छ। एटीएम शुल्क मिनाहा गर्नुका साथै बैंकले हरेक महिना लक्की ड्र मार्फत ५ जना ग्राहकलाई थप एक महिनाको तलब बराबरको रकम उपहार दिने घोषणा समेत गरेको छ।
अजमान बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) मुस्तफा अल खल्फावीले यो कदमले फ्रन्टलाइन कर्मचारीको आर्थिक स्थिरता कायम गर्न र उनीहरूलाई आत्मविश्वासका साथ आफ्नो दायित्व व्यवस्थापन गर्न मद्दत पुग्ने विश्वास व्यक्त गरेका छन्।
चैत २३, २०८२ सोमबार ०७:४९:२० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।