रास्वपा सांसद पुकार बमले जीवी राइबारे भने : ज्युँदो भए नेपाल ल्याउँछौ, रवि पाट्नर भएको मान्दिन

रास्वपा सांसद पुकार बमले जीवी राइबारे भने : ज्युँदो भए नेपाल ल्याउँछौ, रवि पाट्नर भएको मान्दिन

काठमाडौँ : राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद पुकार बमले सहकारीको अर्बौँ रकम ठगीमा फरार जीवी राई जीवित भए नेपाल ल्याउने विवादास्पद अभिव्यक्ति दिएका छन्। एक अन्तर्संवाद कार्यक्रममा नेपाल बाहिर रहेका जीवीबारे सोधिएको प्रश्नमा उनले भने "जीवित भए ल्याउँछौ।"

नेपाललिडको प्रस्ट प्रश्नमा राजेन्द्र बानियासँगको कुराकानीमा उनले व्यक्तिको जीवनबारे नै गम्भीर पक्ष बोलेपछि कार्यक्रम सञ्चालकले बोलेको शब्दको गम्भीरताबारे सम्झाएका थिए।

जीवी ग्यालेक्सी टेलिभिजनको आवरणमा पाँच सहकारीका बचतकर्ताको रकम अपचलनमा मुछिएर अनुसन्धान सुरु भए लगत्तै फरार भएका थिए। पछि उनी मलेसियामा रहेको खुलेपछि इन्टरपोलबाट ल्याउने प्रयाससमेत सफल भएन। जीवीलाई नेपाल ल्याउनेबारे पूर्व गृहमन्त्रीसमेत रहेका तथा ग्यालेक्सीका सञ्चालकमध्येका रवि लामिछानेले समेत प्रश्न उठाउने गरेका थिए।

तर जेनजी आन्दोलनपछि बनेको सुशीला कार्कीको सरकारको महान्यायाधिवक्ता सविता भण्डारीले रविसँगै जीवी राइको समेत सम्पत्ति शुद्धीकरण र संगठित अपराधको अभियोग पत्र नै संशोधन गर्ने विवादित निर्णय गरिन्। यसबारे सर्वोच्चको संयुक्त इजलासमा मुद्दा विचाराधीन छ।

उनै जीवीलाई अब नेपाल ल्याउनेबारे सोधिएको प्रश्नमा सांसद बमले जीवित भए भन्ने जवाफ दिए। उनले जीवी नेपाल आए २०४६ पछिका धेरै नेताहरूको उठीबास लाग्ने दाबी गरे। तर जीवी अध्यक्ष रहेको गोर्खा मिडिया प्रालिमा रवि सञ्चालक रहेको रविले नै स्वीकार गरिसक्दा पनि उनले पाट्नर हैन भने।

उनको दाबी थियो "रवि र जीवीको सहकार्य फरक पाटो हो। म मान्दिन।"

चैत २२, २०८२ आइतबार २३:५६:३५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।