सर्वोच्चमा बन्दी प्रत्यक्षीकरणमा बहस जारी, जिल्लाले तेस्रो पटक थप्यो ओली र लेखकको म्याद

सर्वोच्चमा बन्दी प्रत्यक्षीकरणमा बहस जारी, जिल्लाले तेस्रो पटक थप्यो ओली र लेखकको म्याद

काठमाडौं : भदौ २३ को घटनामा अनुसन्धानका लागि प्रहरी हिरासतमा रहेका पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्व गृहमन्त्री रमेश लेखकलाई थप ५ दिन न्यायिक हिरासतमा राख्न अदालतले अनुमति दिएको छ। जिल्ला अदालत काठमाडौंका न्यायाधीश जगतबहादुर पौडेलको इजलासले आइतबार दुबैलाई थप पाँच दिन हिरासतमा राख्न म्याद थप गरेको हो। 

दुवैको बयान सकिए पनि प्रमाण बुझ्ने लगायतका काम बाँकी रहेको भन्दै प्रहरीले न्यायिक हिरासतमा राख्ने म्याद थप्न अनुरोध गरेको थियो। चैत १४ गते बिहान पक्राउ परेका ओली र लेखकले दायर गरेको बन्दी प्रत्यक्षीकरणको रिटमाथि सर्वोच्च अदालतमा मुद्दा विचाराधीन छ।

जिल्ला अदालतले पहिलो पटक पाँच र दोस्रो पटक दुई दिन म्याद थपेकोमा तेस्रो पटक थप पाँच दिन म्याद थपेको हो। भदौ २३ गते भएको जेनजी आन्दोलनकाक्रममा नयाँबानेश्वरमा गोली चल्दा मारिएका प्रदर्शनकारीबारे गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगले बुझाएको प्रतिवेदनमा ओली र लेखमाथि लापरबाहीका कारण प्रदर्शनकारीको ज्यान गएको भन्दै कारबाहीको सिफारिस गरेको थियो।

चैत २२, २०८२ आइतबार २१:०७:४१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।