रविका वकिल सरकारको महान्यायाधिवक्ता

रविका वकिल सरकारको महान्यायाधिवक्ता

काठमाडौं :  प्रधानमन्त्री बालेन्द्र शाहको सिफारिसमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको पक्षमा सहकारी ठगी लगायतका विषयमा प्रतिरक्षा गर्दै आएका नारायणदत्त कँडेललाई महान्यायाधिवक्तामा नियुक्त भएका छन्। प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेले कँडेललाई आइतबारै नियुक्त गरेर शपथ पनि लिइसकेका छन्। 

संवैधानिक प्रावधान अनुसार सरकारको कानुनी सल्लाहकारको रूपमा रहने महान्यायाधिवक्ता प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिबाट नियुक्त हुनेछन्। 

कँडेल पत्रकारिता हुँदै वकालत पेसामा प्रवेश गरेका हुन्। नेपाल ल क्याम्पसबाट स्नातक रहेका उनले बेलायतको क्विन्स विश्वविद्यालयबाट कानुनमा विद्यावारिधि गरेका छन्। उनी पछिल्लो समय रास्वपा सभापति रवि लामिछाने विरुद्धको मुद्दाहरूमा उनको पक्षबाट प्रतिरक्षा गर्दै आएका थिए।

अहिले पनि लामिछाने विरुद्ध सहकारी ठगीसँगै दोहोरो राहदानीको मुद्दा सर्वोच्चसहित विभिन्न अदालतमा विचाराधीन रहेको छ। उनी विरुद्धको संगठित अपराध र सम्पत्ति शुद्धीकरणको अभियोग सच्याउने महान्यायाधिवक्ता कार्यालयको निर्णय विरुद्ध परेको रिटमाथि सर्वोच्चमा बहस जारी छ।

चैत २२, २०८२ आइतबार २०:४५:४३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।