एमाले सांसद रेखा शर्मालाई रिहा गर्न अदालतको आदेश
काठमाडौं : लुम्बिनी प्रदेश सांसद रेखाकुमारी शर्मालाई अनुसन्धान गरेर महान्यायाधिवक्ताको कार्यालयबाट किनारा लागिसकेको विषयमा पुन पक्राउ गरेको भन्दै जिल्ला अदालत काठमाडौंले रिहा गर्न आदेश दिएको छ। यस अगाडि नै शर्मालाई पक्राउ गरेर जिल्ला प्रहरी परिसर काठमाडौंले जिल्ला सरकारी वकिलको कार्यालयमा अनुसन्धान प्रतिवेदन पठाएको खुले पनि प्रहरीले जानकारी नभएझैँ गरेर शर्मालाई पक्राउ गरेको थियो।
प्रहरीले चैत १६ गते उनलाई पक्राउ गरेको थियो। पक्राउको आधार नयाँ जाहेरी भएको प्रहरीले दाबी गरेको अदालतमा आइतबार म्याद थपका लागि पेस गर्दा शर्माको पक्षबाट बहस गर्नेले उनी सोही उजुरीको आधारमा यस अगाडि नै पक्राउ परेर जिल्ला हुँदै महान्यायाधिवक्ता कार्यालयबाट मुद्दा नचल्ने निर्णय सदर भइसकेको जानकारी गराए पनि फाइल फेला नपरेको सरकारी वकिलको तर्ककै आधारमा म्याद थप भएको थियो।
आइतबार प्रहरीले पुन जिल्ला अदालत काठमाडौंमा म्याद थप्न पेस गरेकोमा न्यायाधीश जगतबहादुर पौडेलको इजलासले उनी विरुद्धको मुद्दा मुद्दा नचल्नेबारे निर्णय भएको खुलेपछि म्याद नथपी रिहा गर्न आदेश दिएको थियो।
अदालतमा उनीबारे २०८२ जेठ १६ मै मुद्दा नचल्ने निर्णय भइसकेको भन्दै अदालतले पुनः सोही विषयमा प्रतिवादीलाई थुनामै राखी मुद्दा पुर्पक्ष गर्नुपर्ने अवस्था नदेखिएको भन्दै रिहा गर्न आदेश दियो। तर मुद्दाको अनुसन्धानको पक्ष भने खुला राखेको छ।
काठमाडौं महानगरको अनुगमनकोक्रममा शर्माको घरमा रहेको बाल श्रमिकमाथि शारीरिक यातना दिएको खुलेको भन्दै कानुनी प्रक्रिया अगाडि बढेको थियो। महानगरको मेयर बालेन्द्र शाह हुँदा शर्मा विरुद्ध प्रहरीमा जाहेरी परेको थियो। प्रहरीले पक्राउ गरेर अनुसन्धान गरेर प्रस्तावित राय र सुझाव जिल्ला सरकारी वकिलको कार्यालयमा पठाउँदा मुद्दा नचल्ने निर्णय भएपछि बालेनले सामाजिक सञ्जालमा बालिकालाई समय आउँछ पख भनेर लेखेका थिए।
चैत २२, २०८२ आइतबार २०:२३:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।