पोखराका मेयरले 'गृहमन्त्रीको' दाबी गरेको फेवा नजिकको जग्गा भाडाको, पाँच वर्षको भाडा नदिएको जग्गाधनीको दाबी

पोखराका मेयरले 'गृहमन्त्रीको' दाबी गरेको फेवा नजिकको जग्गा भाडाको, पाँच वर्षको भाडा नदिएको जग्गाधनीको दाबी

काठमाडौं : गृहमन्त्री सुदन गुरुङको नाममा रहेको जग्गा भनेर दाबी गरिएको पोखराको सिम्ले लामिडाँडामा रहेको जग्गा भाडामा लिएको दाबी सार्वजनिक भएको छ। सुदनले करिब ६ वर्ष अगाडि वर्षको २ लाखको दरमा जग्गा भाडामा लिएर संरचना बनाएको तर एक वर्षको मात्र भाडा दिएर सम्पर्कहीन भएको जग्गाधनी ओमबहादुर गुरुङले दाबी गरेका छन्।

गुरुङका अनुसार त्यो जग्गा उनको बाजेको पालाको हो। अहिले सो जग्गा सात भाइ छोरा र नाति गरेर आठ जनाको नाममा छ। अहिले रहेका गृहमन्त्री सुदन गुरुङले रिसोर्ट बनाउन भाडामा लिएको बताए। उनको जग्गामा सुदनले केही भौतिक संरचना बनाएर सम्पर्कहीन भएको उनले बताए।

गुरुङका अनुसार सुदनले सो जग्गा १५ वर्षका लागि वर्षको २ लाखको दरले भाडामा लिएको, उनले एक वर्षको भाडा दिएर रिसोर्टको संरचना बनाएको तर नचलाएको बताए। उनले हरेक पाँच वर्षमा भाडा पुनरावलोकन गर्ने सहमति भएको समेत बताए।

रिसोर्टको अलपत्र संरचना।“यत्रो खर्च गरेर बनाएर त्यतिकै छाडेको छ। ६ वर्ष जति भयो। पाँच वर्षको भाडा दिएको छैन। सम्पर्क भएको पनि छैन” उनले उकेरासँग भने।

अहिले सुदन गृहमन्त्री भएको सुनेको तर सम्पर्कमा नआएको भन्दै उनले भने “ सुदन भाई, सञ्चालन गरे गर्नुस्, नगरे नगर्नुस्। नत्र आएर यो कागज (सम्झौता) च्यात्नु पर्यो।”

पोखरा महानगरका मेयर धनराज आचार्यले पोखराको फेवातालको मापदण्डभित्र गृहमन्त्रीको समेत जग्गा रहेको र उनले मापदण्डभित्र परे पनि भत्काउन भनेको दाबी गरेपछि यो विषय चर्चामा आएको थियो। उकेराले आइतबार दिनभर पोखरा क्षेत्रमा सुदनको नाममा रहेको जग्गा खोज्दा जिल्ला मालपोत कार्यालय कास्कीमा 'सुदन गुरुङ'को नाममा कुनै जग्गा फेला परेन।

उकेराले आइतबार दिनभर कास्कीमा उनको नाममा जग्गा छ छैन भनेर खोजी गर्दा मालपोत कार्यालय कास्कीको रेकर्डमा उनको नागरिकतामा रहेको विवरण अनुसार सुदन गुरुङको नाममा कुनै जग्गा रहेको खुलेन। 

फेवाताल क्षेत्रमा अतिक्रमित जग्गाको विवरण सम्बन्धी प्रतिवेदन हेर्दा पनि गृहमन्त्री सुदनको नाममा कतै जग्गा भएको र सो फेवातालको अतिक्रमित क्षेत्रमा रहेको विवरण भेटिएन। 

मेयर आचार्यले गृहमन्त्रीको नाममा २० रोपनी जग्गा रहेको दाबी गरे पनि सो जग्गा कहाँ छ भन्ने खुलाएका छैनन्। यसबारे उनीसँग कुरा गर्न उकेराले आइतबार दिनभर पटक पटक प्रयास गरे पनि सफल भएन।

सेतोपाटीमा आइतबार प्रकाशित समाचार अनुसार मेयर आचार्यले पोखरामा गृहमन्त्रीको २० रोपनी जग्गा रहेको भन्दै नक्सा देखाएको दाबी गरेको उल्लेख छ।

"गृहमन्त्रीज्यूले फेवातालमा आफ्नो जग्गा भएको नक्सा देखाउनुभयो, मैले यो त तालको मापदण्डभित्र पर्छ भनेर जानकारी गराएँ,' मेयर आचार्यले सेतोपाटीसँग भनेका छन्, 'उहाँले मेरो जग्गा जाने भए पनि ठिक छ, अतिक्रमण हटाउनुस् भन्नुभयो"

चैत २२, २०८२ आइतबार १९:१०:११ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।