क्रिकेट संघ विवाद : कागजात नपाएको भन्दै बहुमत सदस्य अनुपस्थित भएपछि बोर्ड बैठक स्थगित
काठमाडौं : नेपाल क्रिकेट संघको साधारण सभा स्थगित भएको छ।
उपाध्यक्ष रोशन सिंहसहितका ८ जना सदस्यहरु अनुपस्थित भएपछि चैत्र २१ गतेका लागि बोलाइएको बैठक बस्न नसकेको हो।
बैठकमा साधारण सभा, बजेट, वार्षिक कार्यक्रम र अडिट रिपोर्ट एजेन्डाको रुपमा राखिएको थियो। तर, बैठकमा पेश गरिने भनिएका कागजपत्र पहिले नै उपलब्ध नगराइएको र बैठकस्थलमै सिधै पारित गर्ने रणनीति बनाइएको भन्दै बैठकमा उपस्थित नभएको एक बोर्ड सदस्यले उकेरालाई जानकारी दिए।
सचिव पारस खड्का पक्षधरले केवल हस्ताक्षर गराएर संख्या पुऱ्याउने र पछि मनोमानी निर्णय थप्ने नियत राखेकोले आफूहरू उपस्थित नभएको उनले बताए।
उनले भने, “हामीले माग गरेको कुनैपनि डकुमेन्ट नपाएपछि कोरम (आवश्यक पर्ने न्यूनतम सदस्य संख्या) पुर्याउन मात्रै के जानु त। कोरम पुर्याउने, सहि गर्न लगाउने र बाँकी आफैले थपेर निर्णय गर्ने भनेपछि नगएका हौं।” उनले थपे, “क्यानले अहिलेसम्म साधारणसभा गरेको छैन। साधारण सभामा अडिट रिपोर्ट देखाउनु पर्छ। तर क्यानले देखाएको छैन। उता आइसीसीलाई समेत अडिट रिपोर्ट नपुर्याए आर्थिक कारवाही हुन्छ। क्यान अपारदर्शी रुपमा अघि बढेकोले उपस्थित नभएको हो।”
यता, उपाध्यक्ष सिंहले काठमाडौं बाहिर भएकोले क्यानको बोर्ड बैठकमा जान नपाएको बताए।
उनले भने, “म काठमाडौं बाहिर आएको छु, त्यसैले बोर्ड बैँठकमा जान पाईन। अन्य साथीहरु किन गएनन् त्यो मलाई थाँहा भएन”, उनले भने।
यस बिषयमा क्यानका प्रवक्ता छुम्बी लामासँग थप जानकारी लिन खोज्दा उनले फोन उठाएनन्।
चैत २२, २०८२ आइतबार १६:५४:१५ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।