फुटेजमा प्राण भर्ने अँध्यारो कोठाका जादुगर

फुटेजमा प्राण भर्ने अँध्यारो कोठाका जादुगर

काठमाडौं : हामी पर्दामा फिल्म हेर्छौं। त्यहाँ देखिने नायक, नायिका वा खलनायकको अभिनयका आधारमा आफ्नो प्रतिक्रिया दिन्छौं- राम्रो भए ताली, नभए गाली। तर, पर्दामा देखिने ती पात्रलाई नायिका बनाउन र कथालाई माझ्न पर्दा पछाडि बसेर कसले मिहिनेत गरिरहेको हुन्छ ? यसबारे कमैको मात्र चासो हुने गर्छ।

धेरैलाई लाग्न सक्छ, क्यामेराले खिचेपछि फिल्म बनिहाल्छ! बुझेकाहरूका लागि यो एउटा प्राविधिक प्रक्रिया मात्र पनि हुनसक्छ, तर आमदर्शकका लागि भने फिल्म निर्माणको भित्री प्रक्रिया रहस्य जस्तै छ।

वास्तवमा, कलाकारलाई पर्दामा चम्काउने र निर्देशकको परिकल्पनालाई मूर्त रूप दिने मुख्य जिम्मेवारी दृश्य सम्पादकको हुन्छ। एउटा बन्द कोठामा बसेर क्यामेराले खिचेका हजारौं ‘सट’ र निर्देशकको 'एक्सन-कट' बीचका उत्कृष्ट दृश्य छान्दै कथाको लय मिलाउने काम दृश्य सम्पादकले नै गर्छन्।

यदि दृश्य सम्पादकले दृश्यहरूलाई कथाको मर्मअनुसार काँटछाँट गरेर एउटा सुन्दर माला जस्तै बुन्न सके भने मात्र फिल्म सफल हुन्छ र त्यसको जस निर्देशक, निर्माता र कलाकारले पाउँछन्। विडम्बना, पर्दा पछाडिका हिरोहरूलाई न दर्शकले चिन्छन्, न त धेरै कलाकारले नै उनीहरूको योगदानको उचित कदर गर्छन्।

सिकारु निर्देशकलाई स्थापित गराउने र कलाकारको अभिनयलाई निखार्ने तिनै 'पर्दा पछाडिका हिरो' अर्थात् सम्पादकहरूको अनुभव, भोगाइ र इच्छा कस्ता छन् त ? सम्पादन विधामा सक्रिय केही प्रतिनिधि सम्पादकहरूसँग गरिएको कुराकानीको सम्पादित अंश यहाँ प्रस्तुत छ :

बुवाको सल्लाहले प्राविधिक बनेँ : बनिश शाह

हाम्रो मूल्याङ्कन हुने भनेको दर्शकबाट भन्दा पनि फिल्म क्षेत्रकै सहकर्मीहरूबाट हो। दर्शकलाई त पर्दामा जे देखिन्छ, त्यही लाग्ने हो। तर कामको प्राविधिक पक्ष र गुणस्तरबारे प्रतिक्रिया दिने त आफ्नै साथीभाइ हुन्। 

फिल्म असफल हुँदा कमजोरी औँल्याउँदै आलोचना गर्नेहरू पनि यिनै हुन। फिल्म चल्यो भने त कसले गाली गर्ने र ? सबै हाई हाई गर्छन्।

कहिले काहीँ त राम्रो काम गर्दा गर्दै पनि फिल्म चल्दैन नि त, त्यस्तो बेलामा चाहिँ तिमीहरूको काम राम्रो थियो, अब चलेन त के गर्छौं भन्ने एक खालका साथीहरू पनि हुन्छन्।

पहिले सम्पादकहरू औँलामा गन्न सकिने मात्र हुन्थे, त्यसैले पुराना कलाकार तथा निर्देशक, निर्माता सबैले हामीलाई चिन्नुहुन्थ्यो। अहिलेका नयाँ पुस्ताले त नाम मात्र सुनेका हुन्छन्, देखेका चाहिँ हुँदैनन्। फेरी, कामको प्रकृतिले गर्दा हामी सधैँ स्टुडियोको अँध्यारो 'गुफा’भित्रै बसेर काम गर्ने मान्छे त हौँ!

अनुहार कमैले चिन्छन्। तर चिनिसकेपछि भने सबैले उत्तिकै आदर गर्छन्।

टिनेजको समयमा त मलाई हिरो नै बन्छु भन्ने लाग्थ्यो। हुन त, धेरै जसोलाई आफू हिरो नै लाग्छ। सम्पादनमा म बुवाको माध्यमबाट आए। मेरो बुबा रबी शाह पनि कलाकार हुनुहुन्थ्यो। 

उहाँले नै मलाई अभिनय र प्राविधिक लाइनमा लगाउनुभयो। अभिनय भन्दा प्राविधिक फिल्ड राम्रो हुन्छ भन्ने बुबाको बुझाइ थियो। त्यै भएर पनि म सम्पादक भए। 

हिरो बन्ने रहरदेखि 'गुमनाम' सम्पादकसम्म : मित्र डी गुरुङ

मलाई त इडिटिङ भन्ने थाहै थिएन नि। एसएलसीपछि छोरो बिग्रन्छ भनेर बुबाले वहाँको साथीकोमा इडिटिङ सिक्न पठाइदिनु भएको थियो। भिडियो इडिटिङ भनेको त फेरि बुबालाई पनि थाहा थिएन। खासमा मलाई अल्झाउन पठाउनुभएको थियो। तर मैले काम गर्दा गर्दै इडिटिङ गर्न सिके।

हिरो बन्ने रहर

कलाकार बन्न पाए त, सबैले चिन्छन्, म पनि स्टेजमा कलाकार भएर उभिन पाए त भन्ने लाग्थ्यो। त्यो मलाई मात्र होइन, जो कोहीलाई पनि लाग्छ। अहिले चाहिँ त्यो समय गएछ क्या र? सम्पादनमा नै व्यस्त हुन थालियो। 

फिल्म चल्दा स्याबासी

हामी सम्पादकहरू दर्शकसँग कनेक्ट नहुने भएकाले गाली पनि खाइँदैन, स्याबासी पनि पाइँदैन। अब निर्माण पक्षले भनेअनुसार नै पहिल्यै खिचेर दिएको कुरालाई मिलाएर पठाइसकेका हुन्छौं।

अब आफूले सम्पादन गरेको फिल्म चलोस भन्ने त लागिहाल्छ नै। चलेन भने नराम्रो चाहिँ लाग्छ। तर फिल्मको सम्पादनको पक्षलाई लिएर खासै गाली तालीको भागिदार हामी बन्दैनौँ।

फिल्म चल्यो भने निर्माण पक्षबाट स्याबासी पाइन्छ। चलेन भने पनि गाली खाने भन्न हुँदैन।

कलाकारले चिन्दैनन्

मैले कति फिल्म इडिट गरेँ होला,कम्प्युटरको मनिटरमा हेर्दाहेर्दै ती कलाकारहरू आफ्नै साथी जस्तो लाग्न थाल्छन्। तर उनीहरूले चिन्दैनन्। बाटोतिर भेट्दाखेरि वास्तै गर्दैनन्। चिन्दा पनि चिन्दैनन्,अनि म पनि मनमनै ए ल ठिक छ भन्छु, अनि वास्तै नगरी हिँड्छु।

कतिपयलाई त आफ्नो फिल्मको इडिटर पनि थाहा हुँदैन। नाम चलेका कलाकारहरूले आफूलाई चिनिदेओस् भन्ने चाहिँ लाग्छ। 

टेबुलमा धेरै फिल्म काटियो, अब आफैँ बनाउँछु : तारा थापा (किम्भे)

फिल्म राम्रो भयो भने ताली आउने र नराम्रो भयो भने गाली आउने भनेको स्वाभाविक नै हो। तर हामी पर्दा पछाडिकोहरुलाई अलिक कमै मात्र आउँछ। मैले यो २८ वर्षको दौडानमा त्यति धेरै गाली खाएको छैन। अलिअलि भनेको त सामान्य हो। 

फिल्म चल्दा र नचल्दा बढी गाली आउने र ताली पाउने कलाकार र निर्देशकलाई हो।

हामी सम्पादकले सकेसम्म राम्रो नै बनाइदिने हो। छायांकनमा केही बिग्रेको भए पनि त्यसलाई सकेसम्म राम्रो बाइदिन्छौं। इडिटिङमा त दर्शकले कम्प्लेन गरेको पाइँदैन।

अनावश्यक छ भने त जति नै खर्च गरेको दृश्य भए पनि फाल्दिने हो। यो मैले मात्र होइन,सबै इडिटरले गर्ने नै त्यहीँ हो।
कतिपय निर्देशक ले त झुर खिचेर ल्याएका हुन्छन् कि कहीँ कतै मिल्दैन।

निर्देशक र प्रोड्युसर त दम्पतीजस्तो हुनुपर्छ। उनीहरूले मिलेर काम गरे भने फिल्म बलियो राम्रो बनाउन सक्छन्। नत्र त उही त हो ल्याङ ल्याङ टाइपको।

कलाकारको चिनारी

अहिलेका कलाकारहरू एकदमै व्यस्त भएर होला सम्पादनमा खासै आउँदैनन्। आइहाले भने पनि एकछिन हेरेर गइहाल्छन्। सायद आफैँलाई पर्दामा हेर्न नचाहेर हो कि कुन्नि इडिटिङमा नै आउँछु भन्ने कमै हुन्छन्।

उनीहरू एकै पटक डबिङमा मात्र आउँछन्। इडिटिङमै बसेर ’यो सट यस्तो, त्यो सट त्यस्तो’ भन्दै सम्पादकसँग बस्यो भने सजिलो हुन्छ। कतिपय दृश्यहरूमा हुनुपर्ने अभाव वा कमजोरीहरू खड्किनु स्वाभाविकै हो।

पर्दामा आउने रहर छैन

मलाई हिरो बन्छु भन्ने कहिल्यै लागेन। तर सम्पादनको लामो अनुभवपछि अब एक कदम अघि बढेर निर्माण वा निर्देशनमा लाग्ने सोच बनाएको छु। अहिले नयाँ भाइहरू इडिटिङमा थुप्रै उदाइसके। अब सम्पादनबाट एक स्टेप अगाडि बढेर प्रोडक्सन,अथवा निर्देशनमा जाने कि भन्ने बिचार गरिरहेको छु। अहिले निर्देशकीय कला पनि सिकिरहेको छु।

हामीले टेबुलमा बसेर कुन दृश्य राख्ने र कुन हटाउने भन्ने निर्णय त वर्षौँदेखि गर्दै आएका हौँ, तर फिल्म निर्देशनका अन्य पक्षहरूलाई पनि राम्ररी बुझ्न जरुरी छ। मैले पछिल्लो समय फिल्म ‘पोइ पर्यो काले’को सुटिङमा नै २५ दिन बिताएको छु। 

राम्रो हुँदा आफैँ जस लिन्छन्, बिग्रँदा सम्पादकलाई दोष थोपार्छन् : गौतमराज खड्का

प्रायजसो इडिटिङको काम मान्छेले बुझेकै छैनन्। एक्सन र कट भन्ने बाहेक त्यति धेरैलाई थाहा छ, जस्तो मलाई लाग्दैन। इडिटर भनेको खिचेको फुटेज जोड्ने मात्र त हो भन्ने मात्रै बुझेका छन्। इडिटिङका काम भनेको जोड्ने मात्र नभई इडिटरको आफ्नो क्रियटिभ काम पनि हो भन्ने कुरा थोरै निर्देशकले बुझेका छन्।

कतिपय आफ्नो क्रियटिभिटी हलको पर्दामा पनि देखिन्छ। उनीहरूले खिचेर ल्याएको र हामीले मेहनत गरेको कुरा पर्दामा आउँदा उनीहरू आफैलाई पनि फिल हुन्छ। तर हामीलाई त्यो कुरामा स्याबासी दिँदैनन्।

दर्शकले पनि कहिलेकाहीँ नरुचाएको अवस्था पनि छन्। निर्देशकले फलानाले काम बिगारिदियो भनेका पनि छन्। गाली नपाइने भन्ने त हुँदैन। पर्दामा आएकाको जति गाली त नपाइएला तर राम्रो काम गर्दा पनि अबजस त भइहाल्छ।

राम्रो भयो भने इटिडरले राम्रो गर्यो भनेर स्याबास दिने चलन हाम्रो लाइनमा नै कसैको छैन।

मैले गरेर नै यतिको राम्रो भयो भन्ने मात्रै देखिन्छ। मैले अहिलेसम्म धन्यवाद नै पाएको भनेको शोभित बस्नेतको फिल्म ‘जय हो’ भन्नेमा हो। शोभित बस्नेत दाइले ‘जोमसोमको डाँडैमा’ गीत हेरेर थ्याङ्क्यु है गौतम, राम्रो बनाएछौं भन्नुभयो। त्यही हो, राम्रो भनेको। अरूबाट त कमै पाइन्छ।

राम्रो भयो भने आफैले जस लिन खोज्छन्,नराम्रो भयो भने हामीलाई दोष थोपार्छन्।

इडिटर बन्नका संघर्ष

मेरो बुबा नै यही लाइनको हुनुहुन्थ्यो। रिलको समयमा मेरो बुबा बालाजुमा रहेको फिल्म स्टुडियो एनएफडिसीको ल्याबमा काम गर्नुहुन्थ्यो। उहाँको थ्रोबाट विपिन दाइलाई चिनेपछि इडिटरतर्फ मोडिए। त्यतिबेला मलाई कलाकार बन्न कहिल्यै इच्छा जागेन।
 
अहिले अलिक मोटाए, नत्र म युवा अवस्थामा त हाइट, जिउडाल मिलेको राम्रो थिए। त्यो समयमा मलाई फिल्ममा अफर पनि आएको हो। फिल्म निर्देशक सुरज कुमार नाम्लो दाइले ‘सायद’ फिल्ममा हिरोमा नै अफर गर्नु भएको थियो। तर मलाई क्यामेराका अगाडि उभिन कहिल्यै मनै लागेन। अहिले पनि म खासै फोटो खिच्दिनँ।

कलाकारहरूले कतिको चिन्छन् ?

कलाकारहरूले चिन्ने नचिन्ने भन्ने विषयमा सम्बन्धको कुरा हुन्छ। अब साथी जस्तो भइयो भने बोलचाल नहुने कुरै भएन। आफूले पनि उनीहरूसँग कुराकानी गरिएन भने उनीहरूले कसरी चिन्छन् र? 
 

चैत २२, २०८२ आइतबार १३:३५:४८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।