सभामुखमा रास्वपाका डीपी अर्याल निर्विरोध निर्वाचित भएको घोषणा

सभामुखमा रास्वपाका डीपी अर्याल निर्विरोध निर्वाचित भएको घोषणा

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति एवं सांसद डोलप्रसाद (डीपी) अर्याल प्रतिनिधिसभाको सभामुख पदमा निर्विरोध निर्वाचित भएका छन्। आइतबार बसेको प्रतिनिधिसभा बैठकमा बैठकको अध्यक्षता गरिरहेका ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले अर्याल सभामुखमा निर्विरोध निर्वाचित भएको घोषणा गरेका हुन्।

सभामुख पदका लागि अर्यालको मात्रै उम्मेदवारी परेपछि उनी निर्विरोध चुनिएका हुन्। गत शुक्रबार उम्मेदवारी मनोनयनको तालिकामा अर्यालको एकल उम्मेदवारी दर्ता भएको थियो। आइतबारको बैठकमा रास्वपा सभापति रवि लामिछानेले अर्याललाई सभामुख पदमा निर्वाचित गरियोस् भनी प्रस्ताव प्रस्तुत गरेका थिए।

उक्त प्रस्तावलाई अर्थमन्त्री डा. स्वर्णिम वाग्ले, भौतिक पूर्वाधारमन्त्री सुनिल लम्साल र कानुनमन्त्री सोविता गौतमले समर्थन गरेका थिए। समर्थकको तर्फबाट बोल्दै अर्थमन्त्री डा. वाग्लेले नवनिर्वाचित सभामुख अर्यालले संसद्लाई जीवन्त, सन्तुलित र निष्पक्ष बनाउन महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे।

नवनिर्वाचित सभामुख अर्याल काठमाडौं क्षेत्र नम्बर ९ बाट प्रत्यक्ष निर्वाचित भएका थिए। प्रतिनिधिसभा नियमावलीको नियम ७ अनुसार, सभामुख पदमा एक जनाको मात्र उम्मेदवारी परेमा समर्थक सदस्यले बोलिसकेपछि अध्यक्षता गर्ने व्यक्तिले निर्विरोध निर्वाचित भएको घोषणा गर्ने प्रावधान छ।

सभामुखमा निर्वाचित भएसँगै अर्यालले आफ्नो कार्यभार सम्हाल्नुअघि राष्ट्रपति समक्ष पद तथा गोपनीयताको शपथ लिनुपर्नेछ। उनले सोमबारदेखि सदनको बैठक सञ्चालन गर्ने कार्यतालिका छ।

सभामुखको चयनसँगै अब उपसभामुखको निर्वाचन प्रक्रिया अघि बढ्नेछ। संवैधानिक प्रावधान अनुसार सभामुख र उपसभामुख फरक दल र फरक लिङ्गको हुनुपर्नेछ। सभामुख र उपसभामुख दुवै संवैधानिक परिषद्को सदस्य रहने भएकाले अब हुने उपसभामुखको निर्वाचनलाई चासोका साथ हेरिएको छ।
 

चैत २२, २०८२ आइतबार ११:५१:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।