‘सानुभाइ’ भनेर चिनिने युवराज गुरुङ पक्राउ
काठमाडौं : प्रहरीले शनिबार राति सामाखुसी क्षेत्रबाट ‘सानुभाइ’ भनिने युवराज गुरुङलाई पक्राउ गरेको छ। गुण्डागर्दी विरुद्ध प्रहरीले पछिल्लो केही दिनदेखि सञ्चालन गरिरहेको विशेष सुरक्षा अभियानका क्रममा उनी पक्राउ परेका हुन्।
जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी रमेश थापाका अनुसार प्रहरीले शनिबार राति उनलाई पक्राउ गरिएको जानकारी दिए। गुरुङ यसअघि पनि पटक-पटक आपराधिक गतिविधिमा संलग्न रहेको आरोपमा पक्राउ पर्दै र छुट्दै आएका व्यक्ति हुन्।
उनी विगतमा प्रहरी मुठभेडमा मारिएका कुमार श्रेष्ठ ‘घैँटे’का निकट सहयोगी थिए। घैँटेको मृत्युपछि उनी बुलेट प्रुफ ज्याकेट लगाएर हिँड्ने गरेको प्रहरी रेकर्डमा उल्लेख छ। यसअघि २०८० सालको असारमा ठमेलस्थित क्लब ओम्नियाका सञ्चालकलाई कुटपिट गरेको आरोपमा उनी पक्राउ परेका थिए।
त्यतिबेला प्रहरीले उनलाई हत्कडीसहित ठमेल बजार क्षेत्रमा सार्वजनिक रूपमा घुमाएको थियो। उक्त घटनामा जिल्ला प्रशासन कार्यालय काठमाडौंले उनलाई अभद्र व्यवहारको कसुरमा १० हजार रुपैयाँ धरौटीमा रिहा गरेको थियो। धरौटीमा छुटेपछि पनि उनी पुनः कुटपिट र असुलीका घटनामा सक्रिय रहँदै आएको प्रहरीको दाबी छ।
चैत २२, २०८२ आइतबार ०९:५०:०८ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।