सागर लम्सालमाथि अभद्र व्यवहारको आरोपमा म्याद लिने तयारी
काठमाडौं : शनिबार पक्राउ परेका सागर लम्साल बलेमाथि प्रहरीले अभद्र व्यवहारमा म्याद थप गर्ने भएको छ। एक युवतीले सामाजिक सञ्जालमा उनीमाथि बलात्कार गरेको आरोप लगाएपछि उनी शनिबार पक्राउ परेका थिए।
जिल्ला प्रहरी परिसरले उनलाई आइतबार हिरासतमा राख्न म्याद लिन जिल्ला अदालत काठमाडौंमा पेश गर्दा अभद्र व्यवहारको कसुर देखाउने भएको हो।
"आज अभद्र व्यवहारको कसुरमा म्याद थपका लागि अदालतमा पेश गर्ने छौं," परिसरका प्रमुख एसएसपी रमेश थापाले उकेरासँग भने।
प्रहरीमा पीडितको परिवारको तर्फबाट अभद्रमा उजुरी आएको खुल्यो। त्यसैको आधारमा बले पक्राउ परेका हुन्। शनिबार पक्राउ परेकाले प्रहरीले जरुरी पक्राउ पुर्जी दिएको देखिन्छ।
विदेशमा नेपालीमाथि अर्को नेपाली वा विदेशीले अपराध गरेमा र सो व्यक्ती नेपालमा भेटिएमा पक्राउ गर्न सक्ने कानुनी प्रावधान छ।
गम्भीर अपराधको आरोप लागे पनि पीडित अमेरिकामा भएको, घटनास्थल अमेरिका रहेको जस्ता जटिल पक्षका कारण बलात्कार आरोपमा नेपालमा अनुसन्धान गर्न कानुनी जटिलता देखिन्छ।
बलात्कार घटनामा जाहेरीसँगै घटनास्थल मुचुल्का, पीडितको स्वास्थ्य परीक्षण, बयान महत्त्वपूर्ण प्रमाण मानिन्छ। जाहेरी परिवारकोतर्फबाट पर्न सक्छ। तर स्वास्थ्य परीक्षण र बयानका लागि पीडित उपस्थित हुनुपर्छ।
प्रहरीले यो पक्षमा अध्ययन गरिरहेको देखियो। तत्काल पक्राउ नगर्दा भाग्न सक्ने लगायतका पक्ष हेरेर पक्राउ भने अभद्रमा गरेको खुल्यो।
चैत २२, २०८२ आइतबार ०८:५६:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।