दुर्घटनामा ज्यान गुमाएका वृद्धाको परिवारले पाएन क्षतिपूर्ति रकम, प्रहरीको भूमिकामाथि प्रश्न

दुर्घटनामा ज्यान गुमाएका वृद्धाको परिवारले पाएन क्षतिपूर्ति रकम, प्रहरीको भूमिकामाथि प्रश्न

सर्लाही : सर्लाहीको चन्द्रनगर गाउँपालिका-२ बिर्ता टोलमा गत माघ १६ गते भारतीय मोटरसाइकलको ठक्करबाट ६५ वर्षीया शान्तिदेवी ठाकुरको मृत्यु भएको घटनामा सर्लाही जिल्ला अदालतले चालकलाई धरौटीमा छाड्ने आदेश दियो। 

अदालतको आदेशअनुसार चन्द्रनगर- ३ का २० वर्षीय चालक विशाल महतो एक लाख रुपैयाँ बुझाएर हिरासतमुक्त भइसके। तर, दुर्घटना भएको दुई महिना बितिसक्दा समेत कानुन बमोजिम पाउनुपर्ने क्षतिपूर्ति र क्रिया खर्च अझै नपाएको मृतकका परिवारको गुनासो छ। 

शनिबार पत्रकार सम्मेलन गरेर मृतक शान्तिदेवीका कान्छो छोरा सन्जित शर्माले दुर्घटना भएको दुई महिना बढी भइसक्दा पनि कानुन बमोजिम पाउनुपर्ने क्षतिपूर्ति रकम नपाएको बताए। मोटरसाइकल चालकको सवारी चालक अनुमति पत्र नहुँदासमेत प्रहरीले सामान्य ढङ्गले मुद्दा अघि बढाएको र उनलाई हिरासतमुक्त गराउन सहयोग गरेको उनको आरोप छ। 

पत्रकार सम्मेलनमा सन्जितले प्रहरीले घटनास्थलमा उठाएको मुचुल्का र पछि अदालतमा मुद्दा पेस गर्दा विवरण नै बदेको दाबी गरे। उनले उक्त कार्यमा संलग्न प्रहरीलाई कारबाही हुनुपर्ने माग गरे। 

यता, प्रहरीले भने मृतकको परिवारले पाउने क्षतिपूर्ति रकमबापतको पाँच लाख रुपियाँ र क्रिया खर्चबापत प्राप्त गर्ने ५० हजार रुपियाँ जिल्ला प्रशासन कार्यालयमा गएर लिन सक्ने बताएको छ। इलाका प्रहरी कार्यालय केसर गन्जका प्रहरी निरीक्षक नितेशकुमार सिंहले ३५ दिन हिरासतमा बसेपछि धरौटी बुझाएर छुटेका चालकले जिल्ला प्रशासन कार्यालयमा समेत पाँच लाख ५० हजार रुपियाँ धरौटी राखेको र उक्त रकम मृतकको परिवारले नै प्राप्त गर्ने बताए।

उनले मृतकको परिवारलाई कसैको प्रभावमा परेर यताउता जानुभन्दा आवश्यक कागजात लिएर क्षतिपूर्ति रकम लिन सोझै जिल्ला प्रशासन कार्यालयमा जान आग्रह गरे।

गत माघ १६ गते बिहान बिर्तामा विशालले चलाएको बीआर ३० एपी ३०३७ नम्बरको भारतीय मोटरसाइकलले ठक्कर दिँदा पैदल यात्री शान्तिदेवी घाइते भएकी थिइन्। उनलाई बयलवासमा सामान्य उपचारपश्चात् थप उपचारका लागि वीरगन्जस्थित न्युरो अस्पताल लगिएको थियो। उपचारकै क्रममा सोही दिन बेलुकी उनको मृत्यु भएको थियो। घटना लगत्तै मोटरसाइकल चालक विशाललाई पक्राउ गरेर प्रहरीले अनुसन्धान थालेको थियो।

चैत २२, २०८२ आइतबार ०८:२०:४० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।