सानेपाबाट सुरु भयो महाधिवेशनको दौड, वैशाखभित्रै सदस्यता अद्यावधिक अनिवार्य

सानेपाबाट सुरु भयो महाधिवेशनको दौड, वैशाखभित्रै सदस्यता अद्यावधिक अनिवार्य

ललितपुर : नेपाली कांग्रेसले पार्टीको १५औँ महाधिवेशनका लागि निर्वाचन क्षेत्रमा खटिने केन्द्रीय प्रतिनिधिहरूलाई अभिमुखीकरण गरी महाधिवेशनको औपचारिक तयारीको सुरुआत गरेको छ।

कांग्रेसले ७७ वटै जिल्लामा सदस्यता अभियान र साङ्गठनिक सुदृढीकरणका लागि खटिएर जाने प्रतिनिधिहरूलाई अभिमुखीकरण गर्दै शनिबारदेखि महाधिवेशनको प्रक्रिया अगाडि बढाएको हो।

पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजित अभिमुखीकरणपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै महामन्त्री प्रदीप पौडेलले जिल्लामा खटिएका प्रतिनिधिहरूले वैशाख महिनाभर कार्यक्षेत्रमा खटेर सदस्यता वितरण, अद्यावधिक र साङ्गठनिक अवस्थाको प्रतिवेदन तयार पार्ने बताए।

“कांग्रेसको सङ्गठन सुदृढीकरण र सामाजिक अभियानमा जोडिनका लागि ‘जरा अभियान’ सञ्चालन गरिँदै छ। पुराना क्रियाशील सदस्यहरूले वैशाख महिनाभित्र वडावडामा गएर अनिवार्य रूपमा सदस्यता अद्यावधिक गर्नुपर्नेछ। पार्टीले यस पटक सबै सदस्यलाई कांग्रेस ‘आइडी’ प्रदान गर्नेछ र यो परिचयपत्र नभएका व्यक्तिहरूले १५औँ महाधिवेशनमा भाग लिन पाउने छैनन्,” उनले भने।

पौडेलका अनुसार पार्टीको केन्द्रीय सभापतिको नेतृत्वमा राष्ट्रियस्तरमा बुद्धिजीवी र पेसाकर्मीहरूसँग संवाद हुनेछ भने जिल्ला तहमा स्थानीय समीक्षा कार्यक्रम सञ्चालन गरिनेछ।

उनले भने, “नयाँ सदस्यका लागि डिजिटल माध्यमबाट सदस्यता दिने व्यवस्था मिलाइएको छ। जरा अभियानअन्तर्गत महाधिवेशनको तयारी, साङ्गठनिक सुदृढीकरण, गएको चुनावको समीक्षा र पार्टीलाई सामाजिक गतिविधिमा जोड्ने गरी चार मुख्य विषय समेटिएका छन्। प्रतिनिधिहरूलाई आवश्यक निर्देशिका, कार्यविधि र फारामसहित जिल्ला पठाइसकिएको छ, वैशाखभर सदस्यता अद्यावधिकको काम अगाडि बढ्ने छ।”

पौडेलले पार्टीले तय गरेको पूर्वनिर्धारित कार्यतालिकाअनुसार अभिमुखीकरण सम्पन्न भएको जानकारी दिए। 

चैत २१, २०८२ शनिबार २०:१०:३६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।