समीरको एक्सन र सिनियरको क्रेज, दशैंमा टकराब!

समीरको एक्सन र सिनियरको क्रेज, दशैंमा टकराब!

काठमाडौं : अभिनेता बिराज भट्टको निर्देशनमा बनेको फिल्म ‘१२ गाउँ’बाट नेपाली फिल्म क्षेत्रमा प्रवेश गरेका हुन्, समीर भट्ट। उनको डेब्यु फिल्म नै व्यावसायिक रूपमा सफल रह्यो। 

अघिल्लो दशैंमा प्रदर्शनमा आएको यस फिल्मले समीक्षात्मक रूपमा मिश्रित प्रतिक्रिया पाएता पनि बक्स अफिसमा १९ करोड रुपैयाँभन्दा बढीको व्यापार गर्यो। विशेषगरी समीरको शारीरिक बनावट र ‘एक्सन’ अवतारलाई दर्शकले निकै रुचाए। 

पहिलो फिल्मबाटै अपेक्षितभन्दा बढी चर्चा पाएपछि उनी फिल्म बजारमा डिमाण्डेड अभिनेता बने। उनलाई केही निर्माताहरूले ५० लाख रुपैयाँसम्मको पारिश्रमिक प्रस्ताव गरेको चर्चासमेत चल्यो।

सोही समयमा निर्माता सन्तोष सेनको निर्देशनमा बनेको फिल्म ‘बलिदान’को निकै चर्चा थियो। तर, उक्त फिल्मले व्यवसायीक रूपमा अपेक्षित सफलता प्राप्त सकेन। निर्माताले समीरमाथि गरेको लगानी अनुसार प्रतिफल उठाउन सकेनन्। सफल निर्माताका रूपमा चिनिएका सन्तोष सेनले पनि त्यसपछि अर्को फिल्म निर्माण गर्न सकेका छैनन्।

यता, बिराज भट्ट आफ्ना छोरा समीरलाई लिएर ‘१२ गाउँ’को सफलतापछि यसको सिक्वेल निर्माणमा जुटेका छन्। आगामी दशैंलाई प्रदर्शन मिति तोकिएको यो फिल्मको हाल छायांकन तयारी भइरहेको छ। बजारमा समीरले अन्य फिल्महरू पनि साइन गरेको हल्ला चलेपछि उनले स्पष्टीकरण दिँदै आफू हाल ‘१२ गाउँ २’को तयारीमा मात्र केन्द्रित रहेको बताएका छन्।

“म अहिले ‘१२ गाउँ २’को तयारीमा छु,” उनले भनेका छन्, “चाँडै हामी छायांकनमा जाने क्रममा छौँ। यो सिनेमा बाहेक मैले अरू कुनै पनि सिनेमा साइन गरेको छैन। भ्रमित समाचारहरू सम्प्रेषण नगरिदिनुहुन अनुरोध गर्दछु।”

निर्माण पक्षले फिल्म आगामी दशैंमा प्रदर्शन गर्ने घोषणा गरिसकेको छ। यदि फिल्म तोकिएकै समयमा आएमा समीरले बक्स अफिसमा पल शाह, अनमोल केसी, दयाहाङ राई र महेश त्रिपाठी लगायतका स्थापित कलाकारका फिल्महरूसँग प्रतिस्पर्धा गर्नुपर्ने देखिन्छ। यस प्रतिस्पर्धाले कुन अभिनेताले दर्शकलाई हलसम्म तान्न सक्छन् भन्ने विषयलाई रोचक बनाउने निश्चित छ।

चैत २१, २०८२ शनिबार १८:१९:२४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।