अमेरिकामा भएको बलात्कार घटनामा नेपालमा अनुसन्धान कति सम्भव छ ?

अमेरिकामा भएको बलात्कार घटनामा नेपालमा अनुसन्धान कति सम्भव छ ?

काठमाडौं : अमेरिकामा रहेकी एक नेपाली युवतीले कलाकार सागर लम्साल बलेमाथि बलात्कारको आरोप लगाएपछि उनी शनिवार पक्राउ परे। युवतीले फेसबुकमा लेख्दै बले अमेरिका आएको बेलामा बलात्कार गरेको दाबी गरेकी थिइन्।

परिचित र आफूले दाइ भन्ने बले आफ्नो अपार्टमेन्टमा आएको बेलामा बलात्कार गरेको उनको दाबी थियो। सोही आधारमा शनिवार जिल्ला प्रहरी परिसर काठमाडौँले उनलाई पक्राउ गर्यो।

बले पक्राउ परेपछि पक्राउको कानुनी पक्ष र उनीमाथि कसरी अनुसन्धान हुन्छ भन्ने प्रश्न उठिरहेका छन्।

विदेशमा नेपालीले नेपालीमाथि कुनै अपराध गरेर नेपाल फर्किएको अवस्थामा नेपालमा पक्राउ गर्न सक्ने कानुनी व्यवस्था छ। मुलुकी अपराध संहिताको दफा ३ मा नेपाल बाहिर नेपाली नागरिकमाथि नेपाली वा गैर नेपालीले अपराध गरेमा सो अपराध नेपालभित्र गरे सरह सजाय हुने उल्लेख छ। त्यसमा ११ प्रकारको अपराध उल्लेख भएकोमा पाँचौँ नम्बरमा बलात्कार उल्लेख छ।

यही कानुनको आधारमा २०८१ भदौमा मलेसियामा नेपालीको हत्या गरेर नेपाल आएका अनिलकुमार साह पक्राउ परेका थिए। उनीमाथि झापा शिवसताक्षी नगरपालिका-३ का ४० वर्षीय धनबहादुर प्रधानको हत्या गरेको आरोप थियो।

साथीको हत्या गरेर जोगिन उनी मलेसियाबाट भागेर नेपाल आए लगत्तै पक्राउ परेका थिए।

मलेसियाको घटनाबारे अनुसन्धान गरेका एक प्रहरी अधिकृतका अनुसार मलेसियामा मारिएका  प्रधानको शव नेपाल पठाएको थियो। शवसँगै पोस्टमार्टम रिपोर्टसमेत थियो। प्रधानको श्रीमतीले साह विरुद्ध जाहेरी दिएपछि त्यसैको आधारमा प्रहरीले पक्राउ गरेर हत्या अभियोगमा अनुसन्धान गरेको थियो।

“उनीमाथि मलेसियामै अनुसन्धान हुन सक्थ्यो। तर भागेर नेपाल आए। जहाँ अपराध गरे पनि आफ्नो देशको नागरिकलाई पठाउन मिल्दैन। त्यसैले उनी नेपाल आएकाले यतै पक्राउ गरेर अनुसन्धान भएको थियो” अनुसन्धानमा संलग्न ती प्रहरी अधिकारीले भने।

कानुनी आधारमा लम्साल पक्राउमा समस्या देखिन्न। तर अनुसन्धान प्रक्रिया भने त्यति सहज देखिन्न। बलात्कारको अनुसन्धानमा सबैभन्दा महत्वपूर्ण पीडितको जाहेरी, स्वास्थ्य परीक्षण प्रतिवेदन र घटनास्थल मुचुल्का हो।

पीडित अमेरिकामा छिन्। प्रहरीले जाहेरी आएको छ या छैन खुलाएको छैन। जाहेरी विद्युतीय माध्यमबाट समेत दिन सकिन्छ। तर स्वास्थ्य परीक्षण र घटनास्थल मुचुल्कामा भने समस्या देखिन्छ।

पीडितले अमेरिकामै घटनाबारे उजुरी दिन सक्ने भए पनि उनले उता उजुरी दिएको खुलेको छैन। उनले सामाजिक सञ्जालमा आफूमाथि भएको घटनाबारे विस्तृत लेखेकी थिइन्। अमेरिकामा जाहेरी नपरेकाले उता बलात्कार भएको हो या हैन भन्ने प्रयोजनमा स्वास्थ्य परीक्षण हुन सम्भव देखिन्न। त्यसका लागि सम्बन्धित पीडित नेपालै आउनु पर्ने देखिन्छ।

अर्को सबैभन्दा जटिल हो घटनास्थलको मुचुल्का। घटना अमेरिकामा भएको र उता कानुनी प्रक्रिया नै सुरु नभएकाले अमेरिकाको प्रहरीले घटनास्थलको मुचुल्का गर्न सक्ने अवस्था देखिन्न। त्यसमा अमेरिका र नेपालबीच अपराध सम्बन्धी प्रमाण लगायतका आवश्यक कागजपत्र आदान प्रदान गर्न परस्पर कानुनी सहायता सम्बन्धी सन्धि भएको पनि छैन।

यसका लागि नेपालबाट प्रहरी नै अमेरिका गएर घटनास्थलको मुचुल्का गर्न समेत कानुनी रूपमा सम्भव देखिन्न। अर्को महत्वपूर्ण पक्ष भनेको पीडितको बयानसमेत हो। त्यसका लागि पीडित नेपाल आउनुको विकल्प हुन्न।

चैत २१, २०८२ शनिबार १७:०३:४८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।