वीरगन्जमा ११ वर्षीया बालिकामाथि यौन हिंसाको प्रयास, ५० वर्षीय पसल सञ्चालक पक्राउ
वीरगन्ज : पर्साको वीरगन्ज महानगरपालिका–१ मा एक ११ वर्षीया बालिकामाथि यौनजन्य हिंसाको प्रयास गर्ने ५० वर्षीय पुरुषलाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा वीरगन्ज–८ दुर्गा रोडमा किराना र मासु पसल सञ्चालन गर्दै आएका छपकैयाका इस्माइल मिया रहेका छन्।
परिवारका अनुसार शनिबार बिहान करिब ११ बजेको समयमा पसलको पुरानो बाँकी रकम तिर्न मियाको पसलमा पुगेकी बालिकालाई मियाले पसलभित्र लगेर मोबाइलमा अश्लील भिडियो देखाउँदै अनैतिक कार्य गर्ने प्रयास गरेका थिए।
आफूमाथि जबरजस्ती गर्न खोजिएपछि ती बालिकाले अभियुक्त मियाको हातमा जोडले टोकेर भागेकी थिइन। त्यहाँबाट भागेर घर पुगेकी बालिकाले रुँदै परिवारलाई घटनाबारे जानकारी गराएकी थिइन्।
घटनापछि आक्रोशित बनेका आफन्त र स्थानीय बासिन्दा पसलमा पुग्दा मिया पसल बन्द गरी फरार भइसकेका थिए। पीडित परिवारले वडा प्रहरी कार्यालय बिर्तामा लिखित निवेदन दिए लगत्तै प्रहरीले सक्रियता बढाएको थियो। लुकिछिपी बसेको अवस्थामा मियालाई छपकैयाबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ।
पक्राउ परेका मियामाथि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
चैत २१, २०८२ शनिबार १५:२५:३१ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।