फेवाताल किनारका केही अवैध संरचना हटाएपछि पोखराका मेयरले के भने?
पोखरा : पोखराको फेवाताल किनारमा मापदण्डविपरीत निर्माण गरिएका केही अस्थायी तथा अनधिकृत संरचनाहरू भत्काएपछि पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले प्रतिक्रिया दिएका छन्।
घटनापछि पोखराका केही सञ्चारकर्मीमाझ बोल्दै उनले मुआब्जा पाउनेपर्ने जग्गाधलीको कानुनी अधिकारमा कुनै असर नपर्ने भन्दै आश्वस्त पारेका छन्।
पोखराका स्थानीय पत्रकार मोतिसागर अधिकारीले फेसबुकमा राखेको भिडियोमा उनले भनेका छन्, ‘हामीले अनधिकृत संरचना हटाउन पटक-पटक पत्राचार गर्यौँ। कतिपय साथीहरू अदालत पनि जानुभयो, तर अदालतले स्टे अर्डर नदिएको अवस्थामा हामीले सार्वजनिक सूचना निकालेरै यो कामको सुरुवात गरेका हौँ।’
मेयर आचार्यले मापदण्डविपरीतका संरचना हटाउन महानगरले अचानक कदम नचालेको प्रस्ट पारेका छन्।
फेवाताल क्षेत्रलाई संरक्षण गर्ने यो कार्यक्रम सरकारको सय दिने प्राथमिकताको कार्यक्रमभित्र पनि परेको उनले जानकारी दिए। संघ, प्रदेश र स्थानीय तहको संयुक्त सहजीकरणमा एकसाथ यो काम अगाडि बढाइएको महानगरले जनाएको छ।
मेयर आचार्यले फेवाताल बचाउने यो महाअभियानमा सबैको साथ र सहयोगको अपेक्षा गरेका छन्।
‘फेवाताल बचाउने र सम्मानित सर्वोच्च अदालतको फैसला कार्यान्वयन गर्ने कुरामा महानगरपालिका पूर्ण रूपमा प्रतिबद्ध छ। यसमा सबै नगरवासी, सरोकारवाला र आम नागरिकले साथ दिनुहुनेछ भन्ने सार्वजनिक रूपमा आह्वान गर्न चाहन्छु’, उनले भने।
सर्वोच्च अदालतको आदेश कार्यान्वयन गर्दै ताल संरक्षणको अभियानअन्तर्गत शनिबार बिहानै महानगरले डोजर चलाएको थियो। शनिबार बिहान साढे ४ बजेदेखि नै ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरी तालको ६५ मिटर मापदण्डभित्र पर्ने करिब ३० वटा अस्थायी संरचना भत्काइएको छ।
कास्की प्रहरीका अनुसार यस क्रममा चर्चित ‘वाटर फ्रन्ट रिसोर्ट’को स्विमिङ पुल, गेट र पर्खालहरू समेत भत्काइएको छ। संरचना हटाउन जिल्ला प्रहरी कार्यालय, वडा प्रहरी कार्यालय बैदाम, सशस्त्र प्रहरी र नगर प्रहरी गरी करिब डेढ सय सुरक्षाकर्मी फिल्डमा खटिएका थिए।
मेयर आचार्यका अनुसार विगत ३ वर्षदेखि संघ, प्रदेश र स्थानीय सरकारको संयुक्त पहलमा तालको क्षेत्रफल यकिन गर्ने र सिमानामा पोल गाड्ने काम सम्पन्न भइसकेको छ। तालको सिमानाबाट बाहिरको ६५ मिटर क्षेत्र खाली गर्नुपर्ने र अनधिकृत संरचना हटाउनुपर्ने सर्वोच्चको आदेशलाई पूर्ण रूपमा पालना गरिएको उनले बताए।
चैत २१, २०८२ शनिबार १४:०६:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।