अफगानिस्तानमा भूकम्प, एकै परिवारका ८ जनाको मृत्यु
एजेन्सी : अफगानिस्तानमा शुक्रबार साँझ ५.८ म्याग्निच्युडको भूकम्प गएको छ।
अफगानिस्तान राष्ट्रिय विपद् व्यवस्थापन प्राधिकरणका प्रवक्ता मोहम्मद युसुफ हम्मादका अनुसार भूकम्पमा कम्तीमा आठ जनाको मृत्यु भएको छ।
अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार काबुल प्रान्तको गोसफन्द दारा क्षेत्रमा भूकम्पका कारण घर भत्किँदा सो परिवारका सबै सदस्यको मृत्यु भएको हो। जीवित रहेका बालको भने घाइते अवस्थामा उद्धार गरिएको जनाइएको छ।
यसको केन्द्रबिन्दु उत्तर–पूर्वी बदाख्शान क्षेत्रमा रहेको र भूकम्प करिब १८० किलोमिटर गहिराइमा गएको अमेरिकी भूगर्भ सर्वेक्षणले जनाएको छ।
भूकम्पका धक्का काबुलसहित अफगानिस्तानका विभिन्न भागमा महसुस गरिएको थियो भने भारतको नयाँ दिल्ली र पाकिस्तानका इस्लामाबाद तथा पेशावरसम्म पनि कम्पन अनुभव गरिएको थियो।
प्रारम्भिक तथ्याङ्क अनुसार एपिसेण्टर ३६.५५ डिग्री उत्तर अक्षांश र ७०.८५ डिग्री पूर्व देशान्तरमा रहेको थियो।
यो भूकम्पले स्थानीय बासिन्दाको जीवनमा ठूलो असर पुर्याएको छ। प्रभावित क्षेत्रमा राहत र उद्धार कार्य तत्काल सुरु गरिएको छ। स्थानिय अधिकारीहरूले भूकम्पपीडितलाई सुरक्षित स्थानमा सार्ने र घाइतेलाई उपचारको व्यवस्था गर्ने कामलाई प्राथमिकता दिइरहेका छन्।
विशेषगरी काबुल र उत्तरी प्रान्तहरूमा भूकम्पको प्रभाव अझ बढी देखिएकोले थप सुरक्षा र सावधानी अपनाउन स्थानीय प्रशासनले जनतालाई सचेत गराएको छ।
चैत २१, २०८२ शनिबार १३:४२:११ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।