रवि लामिछानेलाई भेट्न बुढानीलकण्ठ पुगे ज्ञानेन्द्र शाही, भने- ‘एकजुट भएर देश बनाउने अभियानमा छौँ’

रवि लामिछानेलाई भेट्न बुढानीलकण्ठ पुगे ज्ञानेन्द्र शाही, भने- ‘एकजुट भएर देश बनाउने अभियानमा छौँ’

काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का संसदीय दलका नेता ज्ञानबहादुर (ज्ञानेन्द्र) शाहीले सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेसँग भेटवार्ता गरेका छन्।

नेता शाही शनिबार बिहान सभापति लामिछानेलाई भेट्न उनकै निजी निवास बुढानीलकण्ठ पुगेका थिए। समसामयिक राजनीतिक परिस्थिति र आगामी दिनमा हुनसक्ने सहकार्यका विषयमा उनीहरूबीच छलफल भएको बताइएको छ।

भेटवार्तापछि सामाजिक सञ्जालमा लामिछानेसँगको तस्बिर सार्वजनिक गर्दै नेता शाहीले विगतका भोगाइले आफूहरूलाई थप परिपक्व र दृढ बनाएको प्रतिक्रिया दिएका छन्।

उनले लेखेका छन्, ‘विगतका दुःखहरूले हामीलाई कमजोर होइन, दृढ बनाएको छ। त्यसैले आज हामी एकजुट भएर देश बनाउने महाअभियानमा अघि बढिरहेका छौँ।’

पछिल्लो समय सभापति लामिछानेको बुढानीलकण्ठस्थित निवासमा विभिन्न राजनीतिक दलका नेताहरूको आवतजावत बाक्लिएको छ।

गत मंगलबार लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का अध्यक्ष महन्थ ठाकुर र आम जनता पार्टी (आजपा) का अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले पनि लामिछानेलाई उनकै निवासमा पुगेर भेटवार्ता गरेका थिए।

चैत २१, २०८२ शनिबार १३:२१:२९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।