डा. आयुषको अनुभव : घाँटी छिनालिएको ती ३० वर्षीय युवाको पोष्टमार्टम गर्दा आङै सिरिङ्ग भयो

डा. आयुषको अनुभव : घाँटी छिनालिएको ती ३० वर्षीय युवाको पोष्टमार्टम गर्दा आङै सिरिङ्ग भयो

डा. आयुष पौडेल उपाध्याय कानुनी चिकित्सा (फरेन्सिक मेडिसिन) विशेषज्ञ हुन्। चिकित्सकीय पेसाका सिलसिलामा उनले सयौँ मृत शरीरको पोस्टमार्टम गरिसकेका छन्।

विशेषगरी अप्राकृतिक रूपमा मृत्यु भएका व्यक्तिको शव परीक्षण गरेर मृत्युको कारण पत्ता लगाउनु डा. आयुषको दैनिकी हो। व्यक्तिको मृत्युपछि गरिने मृत शरीरको परीक्षणलाई ‘पोस्टमार्टम एक्जामिनेसन’ वा ‘अटोप्सी’ भनिन्छ।

मृत्युको कारण पत्ता लगाउने र बेवारिसे शवको पहिचान गर्ने मात्र नभई कुटपिट वा जबर्जस्ती करणीमा परेका पीडित र पीडक दुवैको स्वास्थ्य परीक्षण गर्ने काम पनि उनको पेसागत जिम्मेवारीभित्र पर्छ।

विद्यार्थी कालदेखि नै पोस्टमार्टम कक्षमा भोगेका कहालीलाग्दा, डरलाग्दा र मार्मिक घटनाहरू डा. आयुषले उकेरासँग साटेका छन्:

घाँटी काटेर मारिएका ती ३० वर्षे युवा
त्रिभुवन विश्वविद्यालय चिकित्साशास्त्र अध्ययन संस्थान (आईओएम) अन्तर्गत महाराजगञ्ज चिकित्सा क्याम्पसमा स्नातकोत्तर तह (एमडी) को पहिलो वर्षमा अध्ययनरत हुँदाको एउटा घटना डा. आयुष कहिल्यै भुल्दैनन्। 

त्यो दिन उनी ड्युटीमै थिए। प्रहरी टोलीले करिब ३० वर्षका एक युवाको शव फरेन्सिक विभागमा ल्यायो।

डा. आयुष र उनका सिनियर चिकित्सकसहितको टोलीले शव हेर्यो। तर, त्यो शवको टाउको नै थिएन। केही दिनअघि मात्रै काटेर हत्या गरिएजस्तो देखिने त्यो शरीर देख्दा जो कोहीको सातो जान्थ्यो।

कानुनी र चिकित्सकीय प्रक्रियापछि पोस्टमार्टम सुरु गरियो। ती युवाको घाँटीमा धारिलो हतियारले च्वाट्टै छिन्ने गरी काटेको देखियो। जनावरलाई मार हानेजसरी क्रूरतापूर्वक मान्छेको घाँटी छिनालिएको त्यो दृश्यले डा. आयुषको आङ नै सिरिङ्ग भयो।

‘मान्छेले मान्छेलाई यसरी पनि मार्न सक्दा रहेछन्’, उनले सोचे। उनी आश्चर्यचकित र स्तब्ध भए। सपनामा पनि चिताउन नसकिने त्यो क्रूर हत्या थियो।

त्यसको एक-दुई दिनपछि पोस्टमार्टमका लागि एउटा टाउको मात्र ल्याइयो। त्यसको पनि पोस्टमार्टम गरियो। अनुसन्धान गर्दै जाँदा त्यो टाउको तिनै ३० वर्षे युवाको भएको पुष्टि भयो। यसरी एउटै व्यक्तिको काटिएको शरीर र टाउको छुट्टाछुट्टै परीक्षण गरेको घटनाले उनलाई अझै झस्काउँछ।

​​​​​​​

त्यसैगरी, काठमाडौंमै करिब ४० वर्षका एक पुरुषलाई ढुंगाले हानेर हत्या गरिएको अर्को शवको पोस्टमार्टममा पनि उनी सहभागी थिए। घाँटी छिनालिएको र ढुंगाले किचेर मारिएको यी दुई विभत्स शव परीक्षण गरेपछिका केही समय त डा. आयुषलाई रातसाँझ एक्लै हिँड्न पनि डर लाग्यो।

खोला किनारका भेटिएको ती बाजेको शव
आवासीय चिकित्सक (एमडी विद्यार्थी) कै रूपमा काम गरिरहँदा अर्को एउटा घटनाले डा. आयुषको मन नराम्ररी पोल्यो। 

प्रहरीको अनुरोधमा उनी काठमाडौं उपत्यकाकै एउटा सानो खोला किनारमा पुगे। त्यहाँ करिब ७० वर्षका एक वृद्धको शव रक्ताम्मे अवस्थामा पल्टिएको थियो।

शवको घाँटीमा धारिलो हतियार प्रयोग भएको थियो भने नजिकै भुइँमा ‘ब्लेड’ खसेको थियो। बाजेको हत्या भएको हो वा आत्महत्या भनेर क्राइम सिन पहिचान गर्न उनलाई त्यहाँ बोलाइएको थियो।

सुरुमा हेर्दा हत्या जस्तो देखिए पनि पछि फरेन्सिक विभागमा ल्याएर सूक्ष्म परीक्षण गर्दा त्यो घटना आत्महत्या प्रकृतिको भएको पुष्टि भएको उनी सम्झन्छन्।

यसबाहेक, महाराजगञ्जमै रहँदा यती, तारा र सौर्य एयरलाइन्स जस्ता ठूला हवाई दुर्घटनामा परेर ज्यान गुमाएका व्यक्तिहरूको शव पहिचान (डिजास्टर भिक्टिम आइडेन्टिफिकेसन) गर्दाको कहालीलाग्दो समय पनि उनको मानसपटलमा ताजै छ। तर ती घटनाहरू उनी सम्झनै चाहँदैनन्।

सुरुमा शव छुनै डर, गन्धले हैरान
स्नातकोत्तर तहमा फरेन्सिक विषयको अध्ययन सुरु गर्दा पोस्टमार्टम कक्षमा पस्नै डा. आयुषलाई असहज हुन्थ्यो।

सुरुवाती दिनमा शवको अनौठो र नमीठो गन्धले उनलाई असाध्यै सतायो। पोस्टमार्टम कक्षबाट बाहिर निस्केर बस्दा पनि त्यो गन्धले पछ्याइरहे जस्तो लाग्थ्यो। ‘जहाँ गए पनि पोस्टमार्टमकै गन्ध आइरहेको भान हुन्थ्यो,’ उनले सुनाए। 

पोस्टमार्टम कक्षबाट निस्कनासाथ हातमुख धुने त छँदै थियो, उनी तुरुन्तै नुहाउँथे। त्यतिले मात्र चित्त नबुझेर घर पुगेपछि फेरि नुहाउँथे। सुरू-सुरूमा उनलाई मृत शरीर छुन एकदमै डर लाग्थ्यो। दिनभरि पोस्टमार्टममा खटिँदा दिक्दारी महसुस हुन्थ्यो।

कुनै शव भर्खरै मृत्यु भएका हुन्थे त कुनै लामो समय बितेर कुहिएका। कुनैमा किरा परेको हुन्थ्यो भने कुनैको त कंकाल वा शरीरका केही अंश मात्रै बाँकी हुन्थे। यस्ता शवसँग दिनहुँ खेल्नुपर्दा मनमा तनाव र संशय उत्पन्न हुनु स्वाभाविक थियो।

‘त्यो बेला शव चिर्ने आँट कसरी गरियो होला भनेर अहिले आफैँलाई अचम्म लाग्छ’, उनी भन्छन्। 

तर, समयक्रमसँगै उनलाई बानी पर्दै गयो। मान्छेको शवको पोस्टमार्टम गर्नुलाई उनको मनमस्तिष्कले पेसा र जिम्मेवारीका रूपमा स्वीकार गर्यो। आजभोलि उनी बिना कुनै हिचकिचाहट आफ्नो काममा तल्लीन हुन्छन्। समाज र न्याय प्रणालीलाई यो विषयका विशेषज्ञको नितान्त खाँचो छ भन्ने बुझेरै उनले यो बाटो रोजेका थिए।

अध्ययनमा अब्बल, डाक्टर बन्ने हुटहुटी
२०४९ सालमा नवलपरासीको सुनवल नगरपालिका-१ मा जन्मिएका आयुष पौडेल उपाध्यायले स्थानीय साकुरा मेमोरियल हाइस्कुलबाट २०६६ सालमा विशिष्ट श्रेणीमा एसएलसी उत्तीर्ण गरे।

त्यसपछि उनी काठमाडौंको क्रिम्सन इन्टरनेसनल कलेजबाट प्लसटु पढे। सानैदेखि अध्ययनमा अब्बल उनमा डाक्टर बन्ने ठूलो रहर थियो। 

एमबीबीएस अध्ययनका लागि तयारी गरेका उनले छनोट परीक्षा पास गरी सन् २०१२ मा काठमाडौं विश्वविद्यालय अन्तर्गतको नेपालगञ्ज मेडिकल कलेजमा भर्ना पाए। सन् २०१८ मा उनले एमबीबीएस पूरा गरे।

छनोटमा शव परीक्षण विषय
एमबीबीएस सकेपछि डा. आयुषले रूपन्देहीको देवदह मेडिकल कलेजमा करिब एक वर्ष मेडिकल अधिकृतका रूपमा काम गरे।

त्यसपछि उनी पाल्पाको रामपुर अस्पताल पुगे। त्यहाँ डेढ वर्ष बिताउँदा उनले स्त्री तथा प्रसूतिसम्बन्धी तालिम लिएर शल्यक्रिया (सिजेरियन सेक्सन) मार्फत सुत्केरी गराई आमा र बच्चाको ज्यान बचाएको सुखद अनुभव पनि सँगालेका छन्।

त्यसपछि उनले दाङको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान, कैलालीको घोडाघोडी र सल्यानका अस्पतालहरूमा काम गरे।

तर, उनलाई विशेषज्ञता हासिल गर्नु थियो। २०७९ सालमा छनोट परीक्षा पार गर्दै उनी सरकारी छात्रवृत्ति कोटामा आईओएम (महाराजगञ्ज) मा फरेन्सिक मेडिसिन विषयमा एमडी अध्ययन गर्न भर्ना भए। 

२०८२ वैशाखमा उनले फरेन्सिक मेडिसिनको अध्ययन पूरा गरे। एमडी अध्ययनकै क्रममा विवाह बन्धनमा बाँधिएका डा. आयुषकी श्रीमती पनि चिकित्सक नै हुन्। श्रीमान्-श्रीमती दुवै एउटै क्षेत्रको भएकाले पेसागत उतारचढाव बुझ्न र यो पेसामा रमाउन धेरै सहज भएको उनी बताउँछन्।

हाल डा. आयुष मकवानपुरको हेटौंडास्थित मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कार्यरत छन्। उनी त्यहाँ फरेन्सिक मेडिसिन विभागका प्रमुख हुन् भने प्रतिष्ठानकै एक्लो कानुनी चिकित्सा विशेषज्ञ पनि। 

प्रतिष्ठानमा जोडिएको यो नौ महिनाको अवधिमा मात्रै आफूले करिब दुई सयवटा शवको पोस्टमार्टम गरिसकेको उनले बताए। उनका अनुसार, त्यहाँ मासिक करिब २० वटा शव परीक्षणका लागि आइपुग्ने गरेका छन्।

चैत २१, २०८२ शनिबार १२:५९:४६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।