एक सातामा सुनचाँदीको मूल्यमा ठूलो उतारचढाव : बुधबार साताकै उच्च, सोमबार सबैभन्दा सस्तो

एक सातामा सुनचाँदीको मूल्यमा ठूलो उतारचढाव : बुधबार साताकै उच्च, सोमबार सबैभन्दा सस्तो

काठमाडौं : गएको एक सातामा सुनचाँदी बजारमा मूल्यको ठूलो उतारचढाव देखिएको छ।

एक साताको तथ्याङ्क हेर्दा सुन र चाँदी दुवैको मूल्यमा सोमबार गिरावट आए पनि त्यसपछि लगातार बढेर बुधबार साताकै उच्च बिन्दुमा पुगेको थियो।

समग्रमा साताको पहिलो दिन आइतबारको तुलनामा अन्तिम दिन शुक्रबार सुन र चाँदी दुवैको मूल्य बढेर कारोबार बन्द भएको छ।

साताको पहिलो दिन आइतबार छापावाल सुनको मूल्य २ लाख ८६ हजार रुपैयाँ रहेको थियो। सोमबार घटेर २ लाख ८३ हजार ५ सय रुपैयाँ कायम भयो, जुन यस साताकै सबैभन्दा सस्तो मूल्य हो।

तर, मंगलबारदेखि सुनको मूल्यमा भारी वृद्धि भयो। मंगलबार २ लाख ९० हजार २ सय रुपैयाँ पुगेको सुन बुधबार ह्वात्तै बढेर २ लाख ९७ हजार ६ सय रुपैयाँ पुग्यो। यो मूल्य यस साताकै सर्वाधिक उच्च हो।

बिहीबार केही घटेर २ लाख ९४ हजारमा झरेको सुन साताको अन्तिम दिन शुक्रबार पनि सोही मूल्य मै स्थिर रहेर कारोबार भएको छ।

समग्रमा आइतबारको तुलनामा शुक्रबार सुनको मूल्यमा ८ हजार रुपैयाँको वृद्धि भएको छ।

चाँदीको मूल्यको अवस्था
यस साता चाँदीको मूल्यमा पनि सुनकै जस्तो ट्रेन्ड देखिएको छ। आइतबार ४ हजार ७२० रुपैयाँ रहेको चाँदी सोमबार साताकै सस्तो ४ हजार ७ सय रुपैयाँमा झरेको थियो।

मङ्गलबार मूल्य बढेर ४ हजार ८४५ रुपैयाँ पुगेको चाँदी बुधबार साताकै उच्च बिन्दु ४ हजार ९४५ रुपैयाँमा कारोबार भयो।

बिहीबार घटेर ४ हजार ७८० कायम भएको चाँदी शुक्रबार पुनः बढेर ४ हजार ८३० रुपैयाँमा कारोबार भएको छ। आइतबारको तुलनामा शुक्रबार चाँदीको मूल्य ११० रुपैयाँले बढेको छ।

चैत २१, २०८२ शनिबार ११:३६:३१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।