टिकटकर तुलसासहित १० जनाविरुद्ध ६ करोड असुलेको दाबीसहित मुद्दा दर्ता, संगठित अपराध र सम्पत्ति शुद्धीकरणको समेत अभियोग
काठमाडौं : सहमतिमा राखेको शारीरिक सम्बन्धलाई हतियार बनाएर बलात्कारको मुद्दा दायर गर्ने भन्दै धम्क्याएर ६ करोड ५२ लाख रकम ठगी गरेको अभियोगमा टिकटकर तुलसा भनिने तुल्सी अधिकारीसहित १० जना विरुद्ध मुद्दा दायर भएको छ।
जिल्ला प्रहरी परिसर ललितपुरले जवर्जस्ती रकम असुली, संगठित अपराध र सम्पत्ति शुद्धीकरणमा तुलसासहित १० जना विरुद्ध अनुसन्धान गरेर बुझाएको प्रतिवेदनको आधारमा बिहीबार जिल्ला अदालत ललितपुरमा मुद्दा दायर भएको हो।
अभियोग पत्रमा धन कमाउने मुख्य उद्देश्यका साथ प्रतिवादी तुल्सी अधिकारीले राजिखुशी साथ कुमार चिमोरियासँग शारीरिक सम्पर्क भएको विषयलाई मुख्य हतियार बनाई आफ्नै शरीर प्रयोग गरेर भने अनुसार भएन भने प्रहरीमा जबरजस्ती करणीको केश हाल्ने भन्दै विभिन्न किसिमको धाक धम्की दिई त्रास देखाई नगद रुपैयाँ, जिन्सी सर-सामान लगाएयतका धनमालहरू किन्न लगाएर रकम असुलेको दाबी गरिएको छ।
प्रहरीले तुलसा भन्ने तुल्सी अधिकारी, मुकेश कुमार धानुका, दिल कुमारी लिम्बु, अशोक अग्रवाल, निलीका भन्ने नेलीका लामिछाने लगायतलाई प्रतिवादी बनाएको छ।
प्रहरी अनुसन्धानमा तुल्सी अधिकारीले आफ्नो नाममा ललितपुरको भैँसेपाटीमा चार आनामा बनेको घर, नवलपरासी (बर्दघाट सुस्ता पश्चिममा) खरिद गरेको जग्गा, ललितपुरको कुमारीपाटीमा तुल्सा कलेक्सन प्रालि खोलेको उल्लेख छ।
अभियोग पत्रमा उनी ५३ पटक नेपाल, भारत, चेन्नाइ र श्रीलङ्का समेतमा भ्रमण गरेको ट्राभल्स हिष्ट्री समेत फेला परेको छ। फरार रहेकी उनी अहिले छोरीसहित चीनमा रहेको उल्लेख गर्दै अभियोग पत्रमा तुलसासहित उनको छोरी र उनको बाबु र आमालाई समेत सम्पत्ति शुद्धीकरणको अभियोगमा प्रतिवादी बनाइएको छ।
चैत २०, २०८२ शुक्रबार ००:३४:२६ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।