बादलको अभिव्यक्तिले एमालेमा तरंग, शीर्ष नेताहरूले गरे सार्वजनिक रूपमै खण्डन
काठमाडौं : बिहीबार प्रतिनिधिसभा बैठकमा एमाले संसदीय दलका नेता रामबहादुर थापा 'बादल'ले पार्टी अध्यक्ष केपी शर्मा ओलीको पक्राउ, जेनजी आन्दोलन, निर्वाचन लगायतका विषयमा धारणा राखे। रास्वपाको नेतृत्वमा 'जेनजी आन्दोलन' भएको, बालेन शाहलाई प्रधानमन्त्रीको शपथ गराइएको र नेपाली सेना तथा कर्मचारीतन्त्रको भूमिकामाथि उनले प्रश्न उठाए।
तर, उनको अभिव्यक्तिपछि पार्टीभित्र असन्तुष्टि चुलियो। एमाले शीर्ष नेताहरूबाटै सार्वजनिक रूपमा उनको आलोचना भइरहेको छ। एमालेका उपाध्यक्ष विष्णु पौडेल र उपमहासचिव योगेश भट्टराईले सार्वजनिक रूपमै बादलको अभिव्यक्तिको खण्डन गरे। उनीहरूले बादलका अभिव्यक्ति पार्टीको नीति विपरीत रहेको टिप्पणी गरे।
बादलका विचार पार्टीको नीतिसँग मेल नखाने उपाध्यक्ष पौडेलको भनाई छ। पार्टीका स्थापित नीति र मान्यता विपरीत बादलले संसदीय दलको हैसियतमा विचार राख्नुलाई सामान्य ढंगले लिन नसकिने उनको आशय छ। त्यसबारेमा पार्टीभित्र छलफल गरिनुपर्ने पौडेलले सामाजिक सञ्जालमार्फत भनेका छन्।
उनले लेखेका छन्, "प्रतिनिधि सभाको आजको बैठकमा नेकपा (एमाले) को दल नेताको हैसियतले मा. रामबहादुर थापाले व्यक्त गर्नुभएको विचार पार्टीका स्थापित नीति र मान्यता विपरीत छन्। यस सम्बन्धमा भोली आयोजना गरिएको नेकपा (एमाले) को केन्द्रीय सचिवालयको बैठकमा गम्भीरतापूर्वक छलफल हुने र उचित निर्णय हुने अपेक्षा गरेको छु।"
एमाले उपमहासचिव भट्टराईले पनि बादलका विचारलाई पार्टीको सिद्धान्त 'जनताको बहुदलीय जनवाद' (जबज)को कसीमा राखेर आलोचना गरेका छन्। जबजको मान्यताअनुसार प्रतिस्पर्धाबाट श्रेष्ठता हासिल गर्ने र शान्तिपूर्ण तथा वैधानिक बाटोबाट नेपाली समाजको प्रगतिशील रूपान्तरण गरी समाजवादको आधार तयार गर्नुहो।
जनताले प्रकट गरेको जनमतलाई सम्मान गर्नु र पराजयको ठोस समीक्षा गरी कमजोरीलाई सच्याएर पुनः जनविश्वास आर्जन गर्ने बाटोमा जानु जबजको मर्म भएको भट्टराईको भनाई छ। तर, बादलले राज्यका निकायहरूप्रति गैरजिम्मेवार ढंगले अभिव्यक्ति दिएको उनको आशय छ।
उनले लेखेका छन्, "यो व्यवस्था ल्याउनमा मुख्य भूमिका खेलेको र संविधान निर्माणमा नेतृत्वकर्ता दल नेकपा एमाले आज सरकारको विपक्षी दल हो तर राज्य पक्षीय दल हो। नेपाली सेना लगायतका सुरक्षा अंगहरू, न्यायालय लगायतका संवैधानिक अंगहरू र कर्मचारीतन्त्रप्रति हाम्रो पार्टीको कुनै पनि वैरभाव छैन त्यसप्रति हाम्रो पार्टीको सम्मान र विश्वास रहिरहने छ। संसद वा सडक, सत्ता पक्ष वा प्रतिपक्ष कुनै पनि भूमिकामा पार्टीको यो धारणा यथावत् रहने छ।"
बादलले नेपाली सेना, कर्मचारीतन्त्र (ब्युरोक्रेसी), सुशीला कार्की आयोग, बारबरा फाउन्डेसन, एनजिओ लगायत संस्था तथा पात्रहरूको भूमिकाका कारण राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले अभूतपूर्व जित हासिल गरेको भनेका थिए। रास्वपाको चमत्कारिक विजयले केही असाधारण प्रश्नहरू जन्माएको भन्दै उनले कुन उद्देश्य प्राप्तिका लागि सिंहदरबार, शीतल निवास, बालुवाटार र सर्वोच्च अदालत जस्ता संरचनाहरू जलाइयो भनेर प्रश्न गरेका थिए। उनले भदौ २३ र २४ गते अवैधानिक ढंगबाट रास्वपाको अघोषित नेतृत्वमा जेनजी आन्दोलन गरिएको आरोप लगाएका थिए।
बादलले भनेका थिए, "यस जादुमय विजयका लागि बाह्य रूपमा कसले निर्णायक भूमिका खेल्यो भन्ने कुरा असंख्य तथ्यले स्पष्ट पारेका छन्। अदृश्य शक्तिहरू, एआई, एल्गोरिदम र गोयबल्स शैली अपनाउनेहरूले राष्ट्रियता, लोकतन्त्र र समृद्धिका नायकहरूलाई खलनायक र हत्याराको रूपमा स्थापित गरे। देश जलाउने र राष्ट्रिय पहिचान मेटाउने पात्रहरूलाई महानायक बनाउने ती अदृश्य पात्रहरूले बाह्य रूपमा निर्णायक भूमिका खेलेका छन्।"
चैत १९, २०८२ बिहीबार २२:३०:२३ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।