आफ्नै कार्यवाहक अध्यक्ष बादलको सम्बोधनमा नेता विष्णु पौडेलको आपत्ति, फेसबुकमा लेखेर गरे आलोचना
काठमाडौं : माओवादी केन्द्र र एमालेबीचको एकता भंग भए पनि एमालेमै बसेका रामबहादुर थापा बादलले एमालेको संसदीय दलको नेताको हैसियतमा बिहीबार प्रतिनिधि सभामा गरेको सम्बोधनबारे पार्टीका वरिष्ठ नेताले आपत्ति जनाए। फागुन २१ को निर्वाचनपछिको संसद्को पहिलो बैठकमा बादलले दलको प्रतिनिधिको रूपमा सम्बोधन गरे जुन अन्य दलको नेताहरूको भन्दा भिन्न थियो।
नेपाली कांग्रेस, नेकपासहितका दलका प्रतिनिधिहरू निकै संयमित देखिएका थिए। उनीहरूले भदौ २३ र २४ को घटनाबारे गाली गरेनन्। शुभकामना दिए अनि आफ्नो धारणा राखे। तर बादल भने भिन्न सुनिएका थिए। उनले भदौ २३ र २४ दुवै दिनको आन्दोलनदेखि फागुन २१ को निर्वाचनदेखि बालेन्द्र शाहको प्रधानमन्त्रीमा चयनसम्मलाई अदृश्य शक्तीको भूमिका रहेको गम्भीर आरोप लगाएका थिए।
उनले सम्बोधनमा जेनजी आन्दोलनका सहिदहरूलाई समेत सम्झिएका थिए। उनले भदौ २४ र २४ गते रास्वपाको नेतृत्वमा रंगक्रान्ती सम्पन्न भएको र फागुन २१ मा निलोक्रान्ती सफल भएको दाबी गरेका थिए।
त्यही अनुसार चैत १३ मा बालेन्द्र शाहलाई प्रधानमन्त्रीमा नियुक्त गरेको भन्दै उनले रास्वपा र शाहलाई बधाई त दिए तर यसलाई विभिन्न आरोपहरू लगाए। उनले रास्वपाको अभूतपूर्व विजयमा नेपाली सेना, ब्युरोक्रेसी, सुशीला सरकार, गौरीबहादुर कार्की आयोग र बारबरा फाउन्डेशनको निर्णायक भूमिका रहेको गम्भीर आरोप लगाएका थिए।
उनले असङ्ख्य तथ्यहरूले अदृश्य शक्ति, टिओबी, अल्गोरिदम र गोयबल्सहरुले लोकतन्त्र र गणतन्त्रका नायकहरूलाई खुंखार खलनायक र हत्याराको रूपमा स्थापित गरेको र जलाउने र आफ्नो राष्ट्रिय पहिचान मेटाउने खलपात्रहरुलाई नायक बनाएको आरोप लगाएका थिए। उनले शीतल निवास, सिंहदरबार लगायतका संरचना जलाउने, हतियारबद्ध टिओबीहरु तिलस्मीरुपमा उपस्थित हुनु र पूर्व प्रधानमन्त्री र पूर्व गृहमन्त्रीलाई पक्राउ कुन उद्देश्यका लागि भनेर प्रश्न गरेका थिए।
एमाले अध्यक्ष केपी शर्मा ओलीको सम्बोधनको शैली र बादलको शैलीमा त्यति भिन्न थिएन। तर एमाले नेता विष्णु प्रसाद पौडेलले सामाजिक सञ्जालमै लेखेर सार्वजनिक रूपमा बादलको सम्बोधनको आलोचना गरे।
उनले बादलले संसदमा गरेको सम्बोधन पार्टीको स्थापित नीति र मान्यता विपरीत रहेको भन्दै फेसबुकमा लेखे "यसबारे शुक्रवारको केन्द्रीय सचिवालयको बैठकमा गम्भीरतापूर्वक छलफल हुने र उचित निर्णय हुने अपेक्षा गरेको छु।"
चैत १९, २०८२ बिहीबार २१:५१:५४ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।