दलको नेता भएर पनि बालेन संसदीय दलको बैठकमा गएनन्, सभापति लामिछानेले गरे अध्यक्षता
काठमाडौं : संसद् सचिवालयले सभामुख निर्वाचनसम्बन्धी कार्यतालिका सार्वजनिक गरेपछि सभामुखको उम्मेदवार टुंग्याउन बिहीबार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को संसदीय दलको बैठक बस्यो।
प्रतिनिधिसभाको पहिलो बैठक सम्पन्न भएलगत्तै बसेको बैठकमा रास्वपा संसदीय दलका नेता एवं प्रधानमन्त्री बालेन शाह उपस्थित भएनन्। दलको नेता अनुपस्थित रहेपछि पार्टी सभापति रवि लामिछानेको अध्यक्षतामा बैठक सम्पन्न भयो।
संसदीय अभ्यासअनुरूप दलको बैठकको अध्यक्षता संसदीय दलको नेताले गर्ने गर्छन्। नेता अनुपस्थित रहेको अवस्थामा उपनेताले बैठकको अध्यक्षता गर्छन्। अहिले रास्वपा संसदीय दलको उपनेता चयन भइसकेको छैन। संसदीय दलमा सभापति लामिछानेको हैसियत अन्य संसद सरह मात्र हुन्छ।

संसदीय दलको शक्ति र अधिकार दलको नेतामा निहित हुन्छ। प्रधानमन्त्रीमा नियुक्त हुन दलका नेता चयन भएको हुनपर्ने व्यवस्थाअनुरुप बालेन दलको नेता चयन भएका थिए। तर, उनले पार्टी र संसदीय दलका बैठकहरूमा चासो देखाउने गरेका छैनन्।
निर्वाचनको मुखैमा एकतामा आएका बालेनलाई भावी प्रधानमन्त्रीको उम्मेदवार घोषित गर्दै फागुन २१ को निर्वाचनमा होमिएको थियो। निर्वाचनबाट रास्वपाले प्रतिनिधिसभामा १८२ सिटसहित करिब दुई तिहाइ बहुमत प्राप्त गर्यो। निर्वाचन पूर्व गरिएको समझदारी अनुरूप गत शनिबार बालेन प्रधानमन्त्री बनेका छन्।
बालेन अनुपस्थितिमा सभापति लामिछानेको अध्यक्षतामा संसदीय दलको बैठकले पार्टी उपसभापति डोलप्रसाद अर्याललाई सभामुखको उम्मेदवार बनाउने निर्णय गरेको छ। संसद् सचिवालयले चैत २२ गते (आइतबार) सभामुखको निर्वाचन गर्नेगरि कार्यतालिका सार्वजनिक गरेको छ।

"प्रतिनिधि सभा नियमावली, २०७९ को नियम ७ बमोजिम प्रतिनिधि सभाको सभामुख पदको निर्वाचन चैत २२ गते आइतबार बिहान ११ बजे बस्ने प्रतिनिधि सभाको बैठकमा गर्ने गरी माननीय ज्येष्ठ सदस्यले निर्वाचनको मिति र समय निर्धारण गर्नु भएकोले सोही नियमावलीको नियम ७ को उपनियम (१) को प्रयोजनको लागि निर्वाचन कार्यक्रम प्रकाशन गरिएको छ," संसद् सचिवालयद्वारा जारी सूचनामा भनिएको छ।
शुक्रबार सभामुखको निर्वाचनको लागि उम्मेदवारी दर्ता हुनेछ। ११ बजेदेखि बजेदेखि दिउँसो २ बजेसम्म उम्मेदवारी दर्ताको समय तोकिएको छ। शुक्रबार दिउँसो साढे २ बजे संसद् सचिवालयले उम्मेदवारको नामावली प्रकाशित गर्नेछ भने २२ गते निर्वाचन हुनेछ।
चैत १९, २०८२ बिहीबार १९:३६:४६ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।