काठमाडौं महानगरले वैशाख १ गतेदेखि रात्रिकालीन बस सेवा सञ्चालन गर्ने, दुई रुटमा गुड्नेछन् विद्युतीय बस

काठमाडौं महानगरले वैशाख १ गतेदेखि रात्रिकालीन बस सेवा सञ्चालन गर्ने, दुई रुटमा गुड्नेछन् विद्युतीय बस

काठमाडौं : काठमाडौं महानगरपालिकाले आगामी २०८३ वैशाख १ गतेदेखि रात्रिकालीन सार्वजनिक यातायात सेवा सञ्चालन गर्ने भएको छ।

साझा यातायातसँगको सहकार्यमा महानगरले राति अबेरसम्म काम गर्ने यात्रु, विद्यार्थी र सर्वसाधारणको सहजताका लागि यो सेवा सुरु गर्न लागेको हो।

महानगरका अनुसार प्रारम्भिक चरणमा दुईवटा मुख्य रुटमा राति ८ बजेदेखि ११ बजेसम्म विद्युतीय बसहरू सञ्चालन हुनेछन्।

ललितपुरको लगनखेल, पाटन अस्पताल, अल्का, नर्भिक, प्रसूति गृह, ट्रमा सेन्टर, वीर अस्पताल, कान्ति अस्पताल, टिचिङ अस्पताल, गंगालाल हृदय केन्द्र हुँदै बुढानीलकण्ठसम्म एउटा रुट हुनेछ। उत्तर दक्षिणको यो १६ किलोमिटरको एकतर्फी रुट हो।

थानकोटदेखि सतुंगल, कलंकी, कालीमाटी, त्रिपुरेश्वर, थापाथली, माइतीघर मण्डला, बानेश्वर, मीन भवन, तीनकुने हुँदै अन्तर्राष्ट्रिय विमानस्थलसम्म पूर्व पश्चिम दिशाको एकतर्फी दुरी २० किलोमिटरको हो। यी दुई रुटमा ४ वटा रात्रिकालीन विद्युतीय बस सञ्चालन हुनेछन्।

‘बेलुका ८ बजेपछि सार्वजनिक यातायात सञ्चालन नहुँदा महङ्गो यात्रा गर्नु पर्ने विद्यमान अवस्थामा सुधार गर्न जरुरी भएकोले रात्रिकालीन सार्वजनिक यातायात सेवा सुरु गर्न लागेका हौँ। महानगरपालिकाका कार्यवाहक प्रमुख सुनिता डंगोलले भनिन्, ‘सार्वजनिक यातायात र यसको विकल्प नहुँदा सबैलाई समस्या परेको छ। त्यसमा पनि किशोरी र महिलाहरूले दुव्र्यवहार भोग्नु परेको छ। विद्यार्थीहरूलाई आर्थिक रूपमा धेरै मर्का छ। यो अवस्थामा सुधार गर्न सेवा दिन लागेका हौँ।’

तोकिएका बस स्टपहरूमा हरेक २० मिनेटको अन्तरालमा बस आइपुग्नेछन्। प्रत्येक बसमा सीसीटीभी क्यामेरा जडान गरिनेछ भने सुरक्षाका लागि नगर प्रहरी परिचालन गरिने जनाइएको छ।

महानगरले यो सेवालाई दिगो बनाउन अन्य साझेदारहरूसँग पनि सहकार्य गर्न खुला रहेको बताएको छ।

चैत १९, २०८२ बिहीबार १२:२९:३८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।