परराष्ट्रमन्त्री खनाल र पोर्चुगलका समकक्षीबीचकाे टेलिफोन वार्तामा पुलिस रिपोर्टमा नक्कली छाप भेटिएको विषय पनि उठ्यो
काठमाडौं : परराष्ट्रमन्त्री शिशिर खनाल र पोर्चुगलका विदेशमन्त्री पाउलो रान्जेलबीच टेलिफोन वार्ता भएको छ।
टेलिफोन वार्तामा पोर्चुगलमा कानुनी जटिलता भोगिरहेका नेपालीहरूको समस्या समाधानका विषयमा छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको छ।
परराष्ट्रमन्त्री खनालले पोर्चुगलमा रहेका २ हजारभन्दा बढी नेपाली नागरिकहरू प्रक्रियागत र कानुनी कठिनाइमा परेको उल्लेख गर्दै यसबारे सकारात्मक निर्णय लिन पोर्चुगिज सरकारसँग आग्रह गरेको विज्ञप्तिमा उल्लेख छ।
विशेषगरी नयाँ दिल्लीस्थित पोर्चुगल र नेपालका दूतावासहरूबाट प्रमाणित भनिएका ‘प्रहरी चारित्रिक प्रमाणपत्र’ लगायतका सक्कली कागजातहरूमा नक्कली छाप भेटिएपछि ती नेपालीहरूको कागजी प्रक्रिया रोकिएको छ।
मन्त्री खनालले यो समस्यामा नेपाली नागरिकहरूको गल्ती नभई बिचौलिया वा अन्य प्राविधिक कारण हुन सक्ने भन्दै ती मुद्दाहरूलाई पुनर्विचार गरिदिन अनुरोध गरे।
जवाफमा पोर्चुगलका विदेशमन्त्री रान्जेलले पोर्चुगलको अर्थतन्त्रमा नेपाली समुदायले पुर्याएको योगदानको उच्च प्रशंसा गरे। उनले समस्यामा परेका नेपालीहरूको विषयमा आफू गम्भीर रहेको र मानवीय दृष्टिकोण राखेर ती मुद्दाहरूको पुनरावलोकन गर्न सम्बन्धित निकायहरूसँग सकारात्मक पहल गर्ने आश्वासन दिए।
टेलिफोन वार्ताका क्रममा दुई मन्त्रीले नेपाल र पोर्चुगलबीचको उत्कृष्ट द्विपक्षीय सम्बन्धप्रति सन्तोष व्यक्त गरेका छन्। उनीहरूले जलविद्युत, कृषि, पर्यटन, पूर्वाधार विकास र सूचना प्रविधि (आईटी) जस्ता क्षेत्रमा आपसी सहयोग र सहकार्यलाई थप सुदृढ बनाउने प्रतिबद्धता समेत जनाएका छन्।
सोही अवसरमा विदेशमन्त्री रान्जेलले परराष्ट्रमन्त्रीको कार्यभार सम्हालेकोमा खनाललाई बधाई दिँदै सफल कार्यकालको शुभकामना व्यक्त गरे। परराष्ट्र मन्त्रालयका अनुसार दुई देशबीचको सम्बन्धलाई थप उचाइमा पुर्याउन आगामी दिनमा उच्चस्तरीय संवादलाई निरन्तरता दिने समझदारी भएको छ।
चैत १९, २०८२ बिहीबार १०:५६:२० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।