इरान युद्धबारे ट्रम्पको सम्बोधनलाई लिएर अमेरिकी संसदमा चर्को आलोचना, भने- ‘ऐतिहासिक गल्ती’

इरान युद्धबारे ट्रम्पको सम्बोधनलाई लिएर अमेरिकी संसदमा चर्को आलोचना, भने- ‘ऐतिहासिक गल्ती’

एजेन्सी : इरान युद्धका विषयमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दिएको पछिल्लो अभिव्यक्तिलाई लिएर अमेरिकी सांसदहरूबीच तीखो मतभेद देखिएको छ।

वासिङ्टनमा ट्रम्पका समर्थक र विरोधीहरूले यो सम्बोधनलाई लिएर आ-आफ्नै ढङ्गले व्याख्या गर्न थालेका छन्।

न्युयोर्कका डेमोक्र्याट नेता तथा सिनेटका अल्पसंख्यक नेता चक शुमरले ट्रम्पको सम्बोधनको कडा आलोचना गरेका छन्। उनले ट्रम्पको यो कदमलाई अमेरिकी इतिहासकै सबैभन्दा खराब निर्णयको संज्ञा दिएका छन्।

शुमरले भनेका छन्, ‘डोनाल्ड ट्रम्पले इरानका बारेमा लिएका निर्णयहरू हाम्रो देशको इतिहासमा सबैभन्दा ठूलो नीतिगत गल्तीका रूपमा दर्ज हुनेछन्।’

ट्रम्पले आफ्नो उद्देश्य स्पष्ट रूपमा बताउन नसकेको, सहयोगी राष्ट्रहरूलाई टाढा धकेलेको र अमेरिकी जनताका दैनिक समस्याहरूलाई बेवास्ता गरेको आरोप समेत शुमरले लगाएका छन्।

अर्कोतर्फ, रिपब्लिकन सांसद लिन्डसे ग्राहमले भने राष्ट्रपतिको कदमको खुलेर बचाउ गरेका छन्। साउथ क्यारोलिनाका सिनेटर ग्राहमले ‘फक्स न्युज’सँग कुरा गर्दै इरानसँग अब दुईवटा मात्र विकल्प बाँकी रहेको बताएका छन्।

‘इरानले कि त सम्झौता गर्नुपर्छ, कि त अझै ठूलो बमबारीको सामना गर्न तयार हुनुपर्छ,’ ग्राहमले भने, ‘राष्ट्रपति ट्रम्पले यस्ता लक्ष्यहरू निर्धारण गर्नुभएको छ, जसले समयसँगै इरानी शासनको टिक्ने क्षमता नै समाप्त पारिदिनेछ।’

राष्ट्रपति ट्रम्पले आफ्नो सम्बोधनमा इरानको इलेक्ट्रिक ग्रिड (विद्युतीय प्रणाली) मा आक्रमण गर्ने चेतावनी दिएका थिए। सोही सन्दर्भलाई जोड्दै ग्राहमले यसलाई अभियानको ‘निर्णायक क्षण’ बताएका छन्।

उनले इरानलाई चेतावनी दिँदै भनेका छन्, ‘यदि तिमीहरूले सम्झौता गरेनौ भने, हामी ती सबै चिज ध्वस्त पारिदिनेछौँ जुन तिमीहरूका लागि आवश्यक छन्।’

चैत १९, २०८२ बिहीबार १०:३१:३२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।